• १५ असार २०८१, शनिबार

गोरखा नगर प्रमुखमा माओवादी केन्द्रका राना र उपप्रमुखमा थोकर विजयी

blog

नरेन्द्र ढकाल

गोरखा, जेठ ५ गते । गोरखा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानामगर विजयी हुनुभएको छ  । उपप्रमुख भने नेपाली काँग्रेसकी मसलीमायाँ थोकर (सपना पुन) ले जित्नुभएको छ । 

नगरप्रमुखमा विजयी रानाले ८ हजार ९६४ मत ल्याउनु भएको छ  । उहाँका निकटतम प्रतिद्वन्द्वी राजनराज पन्तले ७ हजार १०८ मत प्राप्त गर्नुभएको छ । राना २०७४ को स्थानीय निर्वाचनमा पन्तसँग १ हजार ५३४ मतले पराजित हुनुभएको छ । यस पटक उहाँले नै पन्तलाई बदला लिँदै १ हजार ८५६ मतान्तरले विजयी बन्नु भएको हो ।

नगरप्रमुखकी प्रत्यासी नेकपा एमालेकी सम्झना देवकोटाले ४ हजार ९०९ मत ल्याएर तेश्रो बन्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्रराज पाण्डेले ४ सय १३, नेपाल कम्युनिष्ट पाटी (माक्र्सवादी लेनिनवादी) का नारायणबाबु आर्चायले ७९ मत ल्याउनु भएको छ । त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार कृष्णबहादुर तमाङले ४० मत, नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) की सानुमाया बस्नेतले ११ मत ल्याउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमालको भने ९ मत मात्र ल्याउनु भएको छ । उहाँ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध हुनुहुन्छ । 

माओवादी र जनता समाजवादीको तालमेलका बाबजुत पनि ७३५ मतान्तरले थोकर उपप्रमुखमा विजयी बन्नुभएको छ । उपप्रमुखका प्रत्यासी जनता समाजवादी पार्टीका नारायण खत्रीले ६ हजार ७१८ मत ल्याउनु भएको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार देबीबहादुर बस्नेतले ४ हजार ९३४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सम्झना लामिछानेले २७३ मत, मंगोल नेशनल अर्गनाइजेसनकी मन्सु गुरुङले ४० मत र नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) का यादबबहादुर बस्नेतले २३ मत ल्याउनु भएको छ ।

१४ वटा वडा रहेका गोरखा नगरपालिकामा नेपाली काँग्रेसले ६ वटा वडामा विजय हासिल गरेको छ । वडा नं. १, २, ९, १०, १२, १३ काँग्रेसले वडाध्यक्ष जितेको हो । त्यस्तै माओवादी केन्द्रले वडा नं. ४, ७, ८, ११ र १४ वडा गरी ५ वटामा विजय हासिल गरेको छ  । त्यस्तैगरी वडा नं. ३ र ५ मा नेकपा एमाले विजयी भएको छ । वडा नं. ६ स्वतन्त्र उम्मेदवार राजेन्द्रकुमार जोशीले जित्नुभएको छ । उहाँले नेपाली काँग्रेसका उम्मेदवार आनन्द गुरुङलाई पारजित गरेका गरेर विजयी हुनु भएको थियो ।