• २३ पुस २०८१, मङ्गलबार

परीक्षाको तयारीमा कर्मचारी

blog

काठमाडौँ, मङ्सिर २० गते । केही दिनयतादेखि सिंहदरबारसहितका कतिपय सरकारी कार्यालयमा निजामती कर्मचारी छिटफुटबाहेक भेटिँदैनन् । भेटिइहाले पनि कतिपय कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरी बसेका हुन्छन् । कतिपय कर्मचारी भने परीक्षाको तयारीका लागि भन्दै हाजिर गरी घर गएर पढ्ने गरेका छन् । 

लोक सेवा आयोगका अनुसार मङ्सिर २८ गतेदेखि सहसचिव पदको र त्यसपछि क्रमशः उपसचिव र शाखा अधिकृतको परीक्षा हुँदै छ । अहिले कतिपय कर्मचारी कार्यालयमा नै बसेर सेवा प्रवाहभन्दा लोक सेवा आयोगको परीक्षाको तयारी गरेका हुन्छन् त कतिपय कार्यालयमा बिदा लिई परीक्षाको तयारीमा जुटेका छन् । यस्तो समस्या यो वर्ष मात्र नभई हरेक वर्ष हुँदै आएको छ । 

सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका अधिकांश निजामती कर्मचारीले आफ्नै वृत्तिविकास र सेवा सुविधाका लागि बढी समय खर्चिने गरेको पाइन्छ । कर्मचारीहरू परीक्षा तयारी गर्नकै लागि भन्दै आर्थिक वर्षको सुरुमा नै सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा भई जाने गरेका छन् । कार्यालयमा नै वा बिदामा बसेर परीक्षाको तयारीमा कर्मचारी जुटेको निजामती कर्मचारी नै स्वीकार गर्छन् । 

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय सङ्घीय कार्यालयमा कार्यरत कर्मचारी परीक्षाको तयारीमा जुटे पनि सेवा प्रवाहलाई भने अवरोध नगरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कतिपय कर्मचारी परीक्षाको तयारीका क्रममा बिदा वा कार्यालयमा सेवाग्राही नआएको समयमा अध्ययन गरेर बसेको हुन सक्छन् तर हामीले परीक्षाको तयारी गरेर बस्नुपर्दा बिदा लिएर बस्नु भनेका छौँ । सेवाग्राहीको कामलाई बाधा पारेर कुनै पनि कर्मचारीले आफ्नो वृत्ति विकासका लागि मात्र समय दिनु हुँदैन ।” 

बढुवा नहुँदा पढ्न बाध्य छन् कर्मचारी 

सङ्घीय निजामती सेवा ऐनको अभावमा अहिले १७ वर्षसम्म पनि कतिपय कर्मचारीको स्वतः बढुवा नहुँदा कर्मचारी परीक्षा उत्तीर्ण गरी माथिल्लो तहमा पुग्नका लागि पढ्न बाध्य भएका हुन् । कम्तीमा छदेखि सात वर्षमा एक तह बढुवा हुने स्थिति भयो भने कर्मचारी परीक्षाकै लागि कार्यालयमा नै वा बिदामा बसेर पढ्नुपर्ने अवस्थाको अन्त्य हुने निजामती कर्मचारीको भनाइ छ । 

सरुवा स्थगित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी फागुन मसान्तसम्ममा राजपत्र अनङ्कित (नायब सुब्बा र खरिदार ) श्रेणीका कर्मचारीको सरुवा स्थगित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र विभिन्न सङ्घीय मन्त्रालय, आयोग र निकायबाट नायब सुब्बा र खरिदारहरू सरुवा हुँदै आएकोमा आगामी फागुन मसान्तसम्म ती कर्मचारीको सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ । 

लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार नायब सुब्बा र खरिदार पदको खुला र बढुवाबाट माथिल्लो पदमा जानका लागि विज्ञापन गरिएकाले मन्त्रालयले परीक्षा सम्पन्न नभएसम्मका लागि सरुवा स्थगित गरेको हो । मन्त्रालयका उपसचिव कमलप्रसाद भट्टराईले लोक सेवा आयोगको नायब सुब्बा र खरिदार पदको परीक्षा सम्पन्न नभएसम्मका लागि सरुवा स्थगित गरिएको जानकारी दिनुभयो ।