गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १९ गते । अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा प्रकाशित समाचार, लेख, रचनाहरूमध्ये ४० प्रतिशतमा शब्दहरू अपाङ्गतामैत्री नभएको सर्वेक्षणले देखाएको छ ।
बौद्धिक अपाङ्गता अभिभावक सङ्घले सन् २०२३ जनवरीदेखि डिसेम्बर महिनासम्म विभिन्न राष्ट्रिय दैनिकहरूलगायत सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचार र लेख रचनाहरूको सम्बन्धमा गरेको अनुगमन सर्वेक्षण रिपोर्टमा ६० प्रतिशत अपाङ्गतामैत्री र ४० प्रतिशतमा अपाङ्गतामैत्री शब्दावली प्रयोग नभएको पाइएको हो ।
सो सङ्घद्वारा बुधबार राजधानीमा आयोजित “मानव अधिकार र अपाङ्गतामैत्री सञ्चार नीतिको दृष्टिकोणबाट राष्ट्रिय स्तरको मिडियामा प्रकाशित बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी समाचार रिपोर्ट” सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो ।
विष्णु विडारीले सो रिपोर्टबारे जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिबारे लेखिने समाचारमध्ये ४२ प्रतिशत शिक्षासम्बन्धी रहेको, ५३ प्रतिशत दयाभावका र ४७ प्रतिशत अधिकारको माग सम्बन्धमा प्रकाशित भएको बताउनुभयो ।
बौद्धिक अपाङ्गता अभिभावक सङ्घका अध्यक्ष राजु बस्नेतले अपाङ्गताको सम्बन्धमा प्रकाशित समाचारमा अपाङ्गतामैत्री शब्दावली नपर्नुमा यस सम्बन्धमा अझै पनि बुझाउनुपर्ने दायित्व कायमै रहेको भनेर आफूले बुझेको बताउनुभयो ।
उहाँले समाजमा पछाडि पारिएको वर्गबारे समाचार, लेख रचना लेखेर समाजलाई सुसूचित पार्ने जमर्को गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमका जिम्मेवार व्यक्तित्वहरूलाई अपाङ्गतामैत्री शब्दावलीबारे बुझाउने सम्बन्धमा सरोकारवाला निकायहरू सकारात्मक रहेको बताउनुभयो ।
इन्डिपेन्डेट लिभिङ सेन्टरका अध्यक्ष एवम् अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठले अपाङ्गताको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धिका लागि सञ्चारमाध्यमको विशेष सहयोग रहेको बताउँदै अपाङ्गताभित्रको विविधतासँग सम्बन्धित शब्दावलीहरू कुन प्रयोग गर्ने कुन नगर्नेबारे सचेनात्मक कार्यक्रमको अझै पनि आवश्यकता रहेको रिपोर्टले देखाएको बताउनुभयो ।
नेपाल नेत्रहीन सङ्घका अध्यक्ष शिशिर खनालले अपाङ्गता भएका व्यक्तिले पनि शिक्षा, सिपको अवसर पाए अन्य व्यक्ति सरह नै काम गर्न सक्छन् भन्दै उनीहरूलाई अपाङ्गताकै कारण फरक नदेखौँ भन्दै सम्मानजनक शब्दले सम्बोधन गर्न र लेख्न आग्रह गर्नुभयो ।
अपाङ्गता अधिकारकर्मी किरण सिल्पकारले यस क्षेत्रमा विगतमा भन्दा धेरै राम्रा अभ्यास र प्रयास भइरहेको भन्दै अपाङ्गता अधिकारको सवालसँगै अपाङ्गता सञ्चार संहिता र शब्दावलीबारे पनि बुझाउँदै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।