घोडाघोडी (कैलाली) मङ्सिर १९ गते। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धनगढी र टिकापुरका विभिन्न सञ्चार गृहलाई सञ्चारिका समूहले साझा मागपत्र बुझाइएको छ।
मिडियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका समस्याको समाधानको लागि साझा मागपत्र बुझाइएको हो।
महिलाहिंसाविरुद्दको १६ दिने अभियानकै सन्दर्भमा सञ्चारिका समूह केन्द्रको सातै प्रदेशका मन्त्रालय सञ्चार गृहलाई साझा मागपत्र बुझाउने कार्यक्रम अन्तरगत सुदूरपश्चिममा सञ्चारीका समूह सुदूरपश्चिम प्रदेश समितिका अध्यक्षको अगुवाइमा साझा मागपत्र बुझाइएको हो।
सञ्चारिका समूह सुदूरपश्चिम प्रदेशका अध्यक्ष चाँदनी आचार्यको नेतृत्वमा धनगढी र प्रदेश उपाध्यक्ष सीता खनालको नेतृत्वमा सचिव गीता चौधरी, निवर्तमान प्रदेश अध्यक्ष दुर्गा देवकोटाले टीकापुरमा मागपत्र बुझाउनु भएको हो।
आचार्यको नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई सुदूरपश्चिममा पत्रकारको महिलाको अवस्था र समस्या र चुनौतीका बारेमा जानकारी गराउँदै प्रदेश सरकारले बनाउने सञ्चार नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव दिइएको छ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण मैत्री सञ्चार गृह बनाउन सुझाव दिँदै टिकापुर र धनगढीका आधा दर्जन सञ्चार गृहमा मागपत्र बुझाइएको छ।
पश्चिम टुडे, रेडियो पश्चिम टुडे, अग्रलेख, एक्टीभ एफएम, सुदूरपत्र सामुदायिक रेडियो टिकापुर एफएम, टीकापुर दैनिक लगायतका मिडिया हाउसमा साझा मागपत्र बुझाएको हो।
मागपत्रमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण मैत्री पूर्वाधार, अनिवार्य लैङ्गिक समानता र सामाजिक समावेशीकरण संरक्षण नीति कार्यान्वयन, कार्यस्थलको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने, प्रतिनिधित्वत्वमा राजनीतिक हस्तक्षेप रोक्नका नीतिको संस्थागत संरचनामा समावेशीकरण, नियामक निकाय र मिडिया क्षमता सुदृढीकरण, प्रदेश सरकारबाट मिडियामा लैङ्गिक समानता नीतिहरूको अवलम्बन, मिडियामा लैङ्गिक उत्तरदायी बजेट छुट्याउनुपर्ने, मिडियामा लैङ्गिक समानता भए नभएकाको अनुगमन, रिपोर्टिङ र जबाफदेही हुनुपर्ने माग समेटिएका छन्।