• १४ जेठ २०८१, सोमबार

नियमित रक्तदाता चुनावमा केन्द्रित हुँदा बुटवलमा रगतको अभाव

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), जेठ ५ गते । नियमित रक्तदाता चुनावमा केन्द्रित हुँदा बुटवलमा रगतको अभाव सिर्जना भएको छ । रगत संकलनमा कम हुँदा १५ दिन यता बुटवलमा रगतको अभाव भएको हो । 

रक्त सञ्चार सेवा केन्द्र बुटवलमा दैनिक सरदर ७० युनिट रगतको माग छ । तर अहिले दैनिक ३० देखि ३५ युनिट मात्रै रगत संकलन भएको केन्द्रका प्राविधिक सत्यराज शाक्यले बताउनुभयो । त्यसमा पनि आवश्यक समूहको रगत संकलन हुन सकेको छैन । जसका कारण वितरणमा समस्या सिर्जना भएको छ । 

उहाँका अनुसार अहिले ‘ओ’ समूहको रगत पर्याप्त भए पनि त्यस बाहेक ‘ए’ ‘बि’ र ‘एबि’ समूहको रगतको अभाव छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गर्ने नियमित रक्तदाताहरु स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदा आवश्यकता अनुसारको रगत संकलन हुन सकिरहेको छैन । त्यस्तै कतिपय पहाडि जिल्लामा मतदान गर्न गएका फर्किसकेका छैनन् । 

निर्वाचन सकिए पनि मतगणना भइरहेकाले रगतको नियमित आपूर्तिको व्यवस्था मिलाउन अझै केही समय लाग्ने उहाँले बताउनुभयो । ‘चुनाव सकिए पनि मान्छेको ध्यान मतगणनामा केन्द्रित छ ।’ रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक शाक्य भन्नुहुन्छ– ‘जितेका जितमा रमाईरहेका छन्, हारेका तनावमा छन्, यसलेगर्दा रगत संकलनलाई नियमित लयमा फर्काउन अझै केही समय लाग्न सक्छ ।’ 

माग अनुसारको रगत संकलन हुन नसक्दा रगत लिन आएकालाई त्यसै फर्काउनु परेको छ । केन्द्रकी अर्की प्राविधिक राधा शर्माले भन्नुभयो– ‘नियमित रक्तदान गर्ने रक्तदाता र संघसंस्थामा नेतृत्व गर्नेहरु पनि चुनावमा केन्द्रित भएकाले नियमित रगत संकलन हुन सकिरहेको छैन ।’ रतगको आपूर्तिलाई सहज गर्नको लागि बिहिबार संस्थाको १४ औं स्थापना दिवसको अवसरमा बुटवलमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । जसमा सरदर ५० युनिट रगत संकलन भएको संस्थाका अध्यक्ष रामराज पाखे्रेलले बताउनु भयो ।

रगतको अभाव भएपछि दुर्घटना, डायलाइसिस गर्नुपर्ने, गर्भवती महिला, हाहडजोर्नीको शल्यक्रिया, रक्तअल्पताका विरामीलाई समस्या भएको हो । नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले रगत नपाए बुटवल जानु भन्ने अभियान नै चलाएको थियो । जसका कारण डेंगुको महामारी, कोरोना महामारीका समयमा पनि बुटवलबाट काठमाण्डौ, चितवन लगायतका शहरमा रगत पठाइएको थियो । ‘त्यतीबेला रगत नपाए बुटवल जानु अभियान सञ्चालन गरेका हामीले नै अहिले रगतको अभाव भोग्नुपर्यो ।’ – नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले भन्नुभयो । 

नेपाल स्वयमसेवी रक्तदाता समाज र नेपाल मियमित संक्तदाता संघले रुपन्देहीमा नियमित रक्तदान कार्यक्रम गर्दै आएका छन् । त्यसबाहेक विभिन्न संघसंस्थाहरुले पनि रक्तदान गर्ने गरेका छन् । तर चुनाव हुनुभन्दा अगाडिदेखि ती संघसंस्थाका रक्तदानका कार्यक्रम प्रभावित भएको रक्तसञ्चार सेवा केन्द्र बुटवलका संयोजक कृष्ण पंगेनीले बताउनुभयो ।