• १९ मंसिर २०८१, बुधबार

यु–१९ एसिया कप : नेपालको सान्त्वना जित

blog

अफगानिस्तानको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, मङ्सिर १८ गते । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ  ।

यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि नरेन साउदले २६ रन बनाउनुभयो । कप्तान हेमन्त धामीले अविति २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाउनुभयो । बलिङमा अफगानिस्तानका खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले तीन तीन विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाउनुभयो । 

बलिङमा नेपालका सन्तोष यादव र यूनिस ठकुरीले तीन/तीन विकेट लिनुभयो । हेमन्त धामी र अभिषेक तिवारीले दुई दुई विकेट झार्नुभयो । समूह ‘बी’ मा रहेको नेपाल यसअघि बङ्गलादेशसँग पाँच विकेट र श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।