• २५ पुस २०८१, बिहिबार

उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबिच भेटवार्ता

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भएको भेटवार्ता । तस्बिर : उपराष्ट्रपतिको सचिवालय

काठमाडौं, मङ्सिर १८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ । मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरूबिच भएको भेटवार्तामा शुभकामना आदानप्रदान पश्चात् द्विपक्षीय सम्बन्ध, रोजगारी, व्यापार र भ्रमण आदानप्रदान लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाली कामदारको २४ सै घण्टा बिमाको व्यवस्था, कतारमा मृत्यु वा घाइते भएका नेपाली कामदारको उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन कतार सरकारलाई अनुरोध गर्नुभयो  । 

‘‘कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्’’ उहाँले भन्नुभयो, ‘‘म कतारका राजदूतलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीहरूलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा  सहयोग गर्न अनुरोध गर्दछु ।’’


उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा नजिकबाट काम गर्दै र एक अर्कालाई समर्थन गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिक विपिन जोशी लगायत अन्य बन्धकहरूको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसा समेत गर्नुभयो ।

कतारका राजदूत अन्सारीले नेपाल र कतारबिचको सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवर्द्धन  तथा संरक्षणको पक्षमा रहेको बताउनुभयो । ‘‘कतारमा हाल चार लाख नेपाली कामदार रहेकोमा अब घरेलु कामदारलाई पनि कतार लग्ने प्रयासमा छु ।’’ उहाँले भन्नुभयो ।