तिलाचन पाण्डे
तम्घास, मङसिर १८ गते । कालीगण्डकी काेरिडोरमा एक हप्ता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी करिडोर हर्मिचौर अर्वेनी सडक खण्डको गरगरेमा जोखिमयुक्त भिर कटिङ गर्नुपर्ने भएकाले मङ्सिर १९ गतेदेखि २५ गतेसम्म सडक बन्द रहने गैंडाकोट राम्दी मालढुङ्गा सडक योजनाका इन्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो ।
उक्त सडक खण्डमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कटिङको काम गर्नुपर्ने भएकाले वैकल्पिक सडक हर्मिचौर, मिर्मी, आधिदोभान हुँदै पुर्तिघाटको सडक प्रयोग गर्न पनि आग्रह गरिएको छ । आवश्यक सहयोग गरिदिनका लागि योजनाले जिल्ला प्रहरी कार्यालय पाल्पा, गुल्मी र बाग्लुङलाईसमेत आग्रह गरेको छ ।
यता कालीगण्डकी गाउँपालिकाले पनि एक सूचना जारी गर्दै उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । वर्षायामको समयमा उक्त स्थानमा ठूलो ढुङ्गासहितको पहिरो खसेका कारण हप्ता दिनसम्म सडक अवरुद्ध हुने गरेको थियो ।
हर्मिचौरदेखी बाग्लुङको बलेवासम्मको ४५ किलोमिटर सडक स्तराेन्नतिसँगै कालोपत्रे गर्नका लागि कालिका कन्ट्रक्सनले काम गरिरहेको छ । तीन अर्बको लागतमा निर्माण हुने उक्त सडकको २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।