• १२ पुस २०८१, शुक्रबार

सिद्धबाबा सुरुङमार्ग : पुसभित्रै छिचोल्ने तयारी

blog

तानसेन समाचारदाता 

तानसेन, मङ्सिर १८ गते । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको टनेल आगामी पुसभित्र छिचोल्ने तयारी गरिएको छ । ११२६ मिटर लामो सुरुङमार्ग खनेको एक वर्षभित्रै मुख्य सुरुङसहित चार वटा बाइपासको काम छिचोल्ने तयारी गरिएको हो । हालसम्म मुख्य टनेल ८२४.८१ मिटर खनेर सकिएको छ । 

सिद्धबाबा सुरुङ आयोजनाका अनुसार उत्तरतर्फबाट ३६८.०९ मिटर र दक्षिणतर्फबाट ४५६.७२ मिटर सुरुङ खनेर सकिएको छ । यस्तै ‘ब्रेक थ्रु’ हुन बाँकी रहेको दोस्रो बाइपास ढोका १६१ मिटर खन्नुपर्नेमा हालसम्म १४८ मिटर खनेर सकिएको छ । 

सुरुङका दुई वटा बाइपास पनि ‘ब्रेक थ्रु’ भएको सिद्धबाबा सुरुङमार्ग योजनाकी सूचना अधिकारी सबिता ज्ञवालीले बताउनुभयो । “पहिलो र तेस्रो बाइपासको सुरुङ ‘ब्रेक थ्रु’ भइसकेको छ,” उहाँले भन्नुभयो, “मुख्य सुरुङ पनि आगामी एक महिनाभित्रै सकिने गरी काम भइरहेको छ ।”

सुरुङभित्र कडा चट्टान भेटिएको अवस्थामा भने थप एक महिना काम लम्बिन सक्ने ज्ञवालीको भनाइ छ । अहिले दैनिक तीनचार मिटर सुरुङ खन्ने काम भइरहेको छ । ज्ञवालीका अनुसार सुरुङभित्र ‘लाइनिङ’ गर्ने काम पनि भइरहेको छ । सुरुङ खनेर सुरक्षाका लागि गरिने काम मात्र होइन बाटो फराकिलो पार्नेसहित अन्य काम भइरहेको छ । 

आयोजनाले भित्र काम भइरहेकाले बाहिरको कामलाई स्थगित गरेको जनाएको छ । सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेकोमा अहिले त्यसलाई रोकेर भित्र लाइनिङको काम भइरहेको छ । यसले पनि सुरुङभित्रको काम छिटो सकिनेमा आयोजना पक्ष विश्वस्त छ । 

नेपाल सरकारको सात अर्ब ३४ करोड लागतमा यहाँ दुई वर्षअघिदेखि नै सुरुङमार्ग निर्माणको काम भइरहेको छ । एक वर्षसम्म सुरुङ निर्माणका लागि प्रारम्भिक काम भएको थियो । 

आयोजनाका अनुसार हालसम्म बाहिरी क्षेत्रको पहाड अड्याउन ‘रकसेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम भइरहेको छ । आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति ३३.५९ प्रतिशत र वित्तीय प्रगति ३२.२ प्रतिशत पुगेको छ । 

सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झन्डै चार किलोमिटर सडक क्षेत्र पहिरोको उच्च जोखिममा छ । यहाँ वर्षायाममा पहिरो झरिरहने समस्याले दैनिक यात्रा गर्ने यात्रु असुरक्षित रहेकाले सुरक्षित यात्राका लागि सुरुङमार्ग निर्माण थालिएको हो ।

सडक निर्माण भएपछि यो सडक भएर यात्रा गर्ने पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, अर्घाखाँची, रुपन्देही, नवलपरासीलगायतका यात्रुले सुरक्षित यात्रा गर्न पाउने छन् । सुरुङ बनेपछि बर्सात र हिउँदको समयमा पनि माथिबाट पहिरो खस्ने, बाटो अवरुद्ध हुने र सडकमा यात्रा गरिरहेका सवारीमाथि पहिरो खस्ने समस्याबाट मुक्त भइने यात्रुको विश्वास छ ।