धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर १७ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मिडिया काउन्सिल मधेश प्रदेशका संस्थापक अध्यक्ष शिवहरि प्रसाद भट्टराईको दोस्राे वार्षिक पुण्यतिथिको अवसरमा मिडिया काउन्सिल मधेश प्रदेशले सोमबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारकर्मी र सञ्चारक्षेत्रको पीडालाई आफूले राम्ररी बुझेको भन्दै पत्रकारको बिमा, वृत्तिविकास, सुरक्षासहित सञ्चारगृहको लागि आवश्यक पर्ने लोककल्याणकारी विज्ञापनका लागि आफू सकारात्मक रहेको बताउनुभयो ।
उहाँले मधेश प्रदेशका सञ्चारक्षेत्रका समस्याबारे संस्थागत रुपले सुझाव दिनका लागि आग्रह गर्नुभयो । उहाँले ३० वर्ष पत्रकारिता गरेका पत्रकारको सम्मानका लागि बजेट विनियोजन गर्न आफूले मन्त्रिपरिषदमा विषयवस्तु उठान गरिसकेको भन्दै प्रत्येक जिल्लामा वरिष्ठ पत्रकारहरुको सम्मान गर्ने परिपाटी बसाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार माध्यममा राजनीतिक विषयवस्तु मात्रै समाचार बन्ने गरेको भन्दै समाजमा देखिएका विकृतिहरुको विरुद्धमा पनि कलम चलाउनका लागि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले सञ्चारकर्मीले सत्यतथ्यलाई उजागर गर्नुपर्ने भन्दै आज भोलि पीत पत्रकारिता पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, हरेक दिन हजाराैं मान्छेको मृत्यु हुन्छ । तर केही यस्तो व्यक्ति हुन्छ जसको मृत्यु भएमा समाजले नै शोक मनाउने गर्छ । त्यस्ता व्यक्तिहरुमध्येका एक शिवहरि प्रसाद भट्टराई हुन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले सरकार मिडिया मैत्री भए मात्र लोकतन्त्र मजबुत हुने भएकोले प्रदेश सरकारलाई मिडियामैत्री बन्न सल्लाह दिनुभयो ।
उहाँले संस्थागत अध्यक्ष भट्टराई जस्तोसुकै समस्या समाधान गर्ने व्यक्ति रहेको भन्दै पत्रकारहरुको बिचमा द्वन्द्व हुँदा पनि समाधान गर्ने गरेको बताउनुभयो । कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्रदेश सरकारले पत्रकारको एक लाखको स्वास्थ्य बिमा र सात लाखको दुर्घटना बिमा गर्न लागेको र केही दिनभित्रै स्नातकोत्तर अध्ययनका लागि केही पत्रकारलाई छात्रवृत्ति दिने व्यवस्था गर्न लागेको बताउनुभयो ।
मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामतसहित संस्थापक अध्यक्ष भट्टराईको नाउँमा पुरस्कारको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।