गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर १७ गते । बाँकेका सामुदायिक वन समुदायको विकासका लागि मात्र नभएर जीविकोपार्जनको माध्यम बन्नुका साथै समुदायको सेवामा पनि समर्पित भएका छन् ।
स्थानीय उपभोक्ताहरूको हरेक समस्यामा सामुदायिक वन समूह असल साथी बनेर सहभागी हुने र आवश्यक सहयोग गर्ने गरेको छ । जसका कारण कतिपय उपभोक्ताहरूले सरल रूपमा आफ्नो जीविकोपार्जन गरेका छन् भने कतिपय उपभोक्ताहरू स्वरोजगार समेत बनेका छन् ।
सामुदायिक वनहरूले आफ्नो वनमा रहेका काठ दाउरा बिक्री गरेर लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् । काठ दाउराको बिक्रीबाट भएको आम्दानीबाट समुदायको विकासका लागि आवश्यक कामहरू गर्नुका साथै स्थानीय उपभोक्ताहरूलाई परेको बेलामा सहयोग गर्ने तथा जीविकोपार्जनका लागि र स्वरोजगार बन्न समेत उल्लेख्य सहयोग गर्ने गरेका छन् ।
जिल्लाको राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले समाजमा हुने हरेक विकास निकासका क्रियाकलापहरूमा आफ्नो साझेदारी गर्दै आएको छ । सामुदायिक वनका कारण स्थानीय उपभोक्ताहरूले सहज रूपमा जीविकोपार्जन गर्दै आएका छन् भने रोजगारीको सृजना समेत भएको छ। २०५७ सालमा स्थापित भएको यो सावउसले ३९३ हेक्टर वनक्षेत्र ओगटेको छ । समूहमा १३२ घरधुरी रहेका छन् ।
“हामीले स्थापना भएदेखि हालसम्म समूहका सदस्य तथा उनका परिवारहरूलाई आवश्यक सहयोग गर्नुका साथै समुदायमा हुने हरेक पूर्वाधार विकासमा हाम्रो लगानी गर्दै आएका छौँ, समुदाय विकासका काममा हाम्रो साझेदारी रहँदै आएको छ,” समूहका अध्यक्ष भगानु थारुले भन्नुभयो, “उपभोक्ताका आयआर्जनमा टेवा पुराउनुका साथै आपत् परेको बेलामा सहयोग, बालबालिकालाई शिक्षामा सहयोग तथा स्वरोजगार बन्न मद्दत गर्दै आएका छौँ ।”
“कचनापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको ट्याङ्की निर्माण गरिदिएको छ । त्यहाँबाट हरेका उपभोक्ताका घरसम्म पुग्ने पाइप लाइन बिछ्याउने, पानीको मिटर जडान गर्ने लगायतका कार्यमा ५० प्रतिशत अनुदान लागत हामी आफैले बेहोरेका छौँ,” अध्यक्ष थारुले भन्नुभयो, “गत वर्ष १२ जना उपभोक्ताको घरमा खानेपानी पुर्याउने काम गर्यौँ, यो वर्ष पनि यो कामलाई निरन्तरता दिन्छौँ ।”
समूहले गाउँमा विद्युतीकरण गर्दा समेत २० प्रतिशत लगानी गरेको छ । त्यसैगरी सिँचाइका लागि मोटर तथा पाइप खरिदमा पनि कूल लागतको ५० प्रतिशत अनुदान रकम उपभोक्तालाई प्रदान गर्दै आएको छ । गाउँको तीन किलोमिटर सडकमा सडक बत्ती हाल्ने काम समेत समूहले आफै गरेको छ ।
“हामीले सामाजिक कार्य अन्तर्गत थुप्रै काममा सहयोग गर्ने गरेका छौँ, ग्रामीण सडकहरू बिग्रे भत्केमा मर्मत सम्भार गर्नेदेखि लिएर उपभोक्ता तथा परिवारका सदस्यहरू बिरामी हुँदा उपचारका लागि सहयोग समेत गर्ने गरेका छौँ,” समूहका कोषाध्यक्ष मीनबहादुर सेजुवालले भन्नुभयो । उहाँका अनुसार कोही सदस्य बिरामी भएर उपचार गराउनका लागि रुपियाँ पैसा नहुँदा तीन महिनाका लागि २५ हजार रुपियाँ सापटीका रूपमा प्रदान गरेको छ ।
“हामीले उपचारका लागि प्रति सदस्य २५ हजार रुपियाँ सापटी दिन्छौँ, तीन महिना भित्र उहाँले यो रकम फिर्ता गर्नुपर्छ तर ब्याज तिर्नुपर्दैन, यसले गर्दा पैसाका कारण कोही सदस्यले ज्यान गुमाउनु पर्दैन, हालसम्म यो सुविधा करिब ५० जनाले लिइसक्नुभएको छ,” सेजुवालले भन्नुभयो ।
समूहले स्थानीय दुई जना स्वयंसेविकालाई वार्षिक ६ हजारका दरले प्रोत्साहन रकम दिने गरेको छ । गर्भवती आमाहरूलाई शिशु स्याहार कार्यक्रम अन्तर्गत पोसिलो खानेकुरा तथा आवश्यक सामग्रीदेखि लिएर बच्चालाई न्यानो कपडा समेत प्रदान गर्ने गरेको छ । त्यसैगरी उपभोक्तालाई जीविकोपार्जन तथा स्वरोजगार बनाउनका लागि विभिन्न आयआर्जन कार्यक्रम सञ्चालन गरेको छ ।
“उपभोक्ताले गर्न चाहेको कुनैपनि सानोतिनो व्यापार, व्यवसायका लागि एक लाख रुपियाँ सापटी रकम दिने गरेका छौँ, यो रकम दुई वर्षभित्र बिना ब्याज फिर्ता गर्नुपर्छ, यो रकमले गाउँका कतिपय उपभोक्ताहरूले पेसा व्यवसाय गरेर आफ्नो जीवनयापन गरिरहनुभएको छ भने कतिपय स्वरोजगार समेत बन्नुभएको छ ।” समूहका सहसचिव अरुण गौतमले भन्नुभयो, “हालसम्म यो सुविधा करिब २० जना उपभोक्ताले लिइसक्नुभएको छ ।” उहाँका अनुसार १० कक्षामा अध्ययन गर्ने उपभोक्ताका बालबालिकाहरूलाई वार्षिक ३ हजार रुपियाँका दरले प्रति व्यक्ति शैक्षिक सहयोग गर्ने गरिएको छ । त्यसैगरी स्थानीय लक्ष्मी माविलाई आवश्यक ३० सेट बेञ्चडेस्क प्रदान गर्नुका साथै स्मार्ट बोर्ड समेत समूहले सहयोग गरेको छ । साथै विद्यालयको भवन निर्माण गर्दा समेत समूहका तर्फबाट सहयोग गरिएको छ ।
यति मात्र नभएर वनमा झाडी सफाइ होस् या काठ दाउरा कटान मुछान तथा घाटगद्दी गर्दा समेत स्थानीय उपभोक्ताले नै रोजगारी पाउने गरेका छन् । एक सिजनमा एउटा उपभोक्ताले कम्तीमा पनि ६०–७० हजार रुपियाँ आम्दानी गर्ने गरेका छन् । झाडी सफाइमा समूहको वार्षिक करिब सात लाख रुपियाँ खर्च हुने गरेको छ । उक्त रकम उपभोक्ता कै हातमा पर्ने गरेको छ ।
सामुहिक हितका लागि वनको संरक्षण, संवर्द्धन तथा सदुपयोग गर्दै आएको उक्त समूहले हरेक वर्ष खाली वनक्षेत्रमा बिरुवा लगाउनुका साथै वनक्षेत्र र बस्ती क्षेत्रबिच तारबार लगाउने काम गर्दै आएको छ । जसले गर्दा वन्यजन्तु र मानवबिच हुने सम्भावित द्वन्द्वलाई न्यूनीकरण भएको छ । त्यसैगरी वनक्षेत्रमा रहेका वेतबाँस तथा तेँजुका पात बिक्रीबाट समेत समूहले राम्रो आम्दानी गर्दै आएको छ ।