• १३ वैशाख २०८१, बिहिबार

एकै परिवारका तीन पुस्तामाथि विजय

blog

काठमाडौँ, जेठ ५ गते । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल–७ (तत्कालीन–२)का रोमीप्रसाद व्याञ्जूले चौथो पटक जित हात पार्नुभएको छ । हरेक पटक वडाध्यक्षको उम्मेदवार हुँदा उहाँले यस पटक पनि सोही पदमा जित हासिल गर्नुभएको हो । 

तर यसमा मात्र उहाँको विजय–यात्राको समाचार रहेन । उहाँको विगतका विजयले एकै परिवारका तीन पुस्तासँगको भिडन्त र विजयलाई पनि स्मरण गराउँछ । २०४९, २०५४, २०७४ र २०७९ मा गरी चार पटक उम्मेदवार बनी विजयको ताज पहिरिँदा तीनवटा निर्वाचनमा चाहिँ उहाँले एकै परिवारका हजुरबा, बाबु र नातिलाई पराजित गर्नुभएको हो ।व्याञ्जूले २०४९ सालको स्थानीय निर्वाचनमा हजुरबुबा, २०५४ सालमा छोरा र २०७९ सालमा नातिलाई वडाध्यक्षमा पराजित गर्नुभएको हो ।  

२०४९ सालमा धुलिखेल–२ (हालको वडा नं. ७)का रोमीप्रसाद व्याञ्जूले नेपाली काँग्रेसका रामचन्द्र घिनान्जूलाई स्वतन्त्र उम्मेदवार बनेर पराजित गर्नुभएको थियो । धरानमा वडाध्यक्ष जितिसकेका र नेपाली काँग्रेसका प्रभावशाली नेता घिनान्जूलाई उहाँले दोब्बर मतान्तरले पराजित गर्नुभयो ।

उहाँसँगै सोही निर्वाचनमा धुलिखेलमा सो बेलाका चल्तीका उम्मेदवार जङ्गवीर व्याञ्जूलाई समेत पराजित गर्नुभयो । सो निर्वाचनमा व्याञ्जूले ३५१ मत ल्याउँदा घिनान्जूले १८७ र जङ्गवीरले ११३ मत ल्याउनुभएको थियो । त्यसको पाँच वर्षपछि २०५४ सालमा रोमीले राप्रपाको हलो चुनाव चिह्नबाट उम्मेदवारी दिनुभयो । 

२०५४ सालमा भने उहाँले आशा नै मारिसक्नुभएको थियो । “हारेँ भनेर घर आएर सुतेको थिएँ, पछि त जितेछु,” उहाँले स्मरण गर्दै भन्नुभयो । सो निर्वाचनमा काँग्रेसबाट रामचन्द्र घिनान्जूका छोरा जितकृष्ण घिनान्जू, प्रभुकृष्ण तखाछेँका बीच रोमीको रोमाञ्चक प्रतिस्पर्धा हुँदा रोमी फुत्कनुभएको थियो । त्यस चुनावमा रोमीले २३८, जितकृष्णले २१८ र प्रभुकृष्णले २०८ मत ल्याउनुभएको थियो । 

२०७४ को स्थानीय निर्वाचनमा पनि उहाँ तेस्रो पटक विजयी हुनुभयो तर त्यस निर्वाचनमा भने घिनान्जूको परिवारका कोही पनि उम्मेदवार थिएनन् । राप्रपाको हलो चुनाव चिह्न लिएर उम्मेदवार बन्दा धुलिखेलमा एमालेको बोलवाला थियो तर उहाँले एमाले र काँग्रेसका उम्मेदवारभन्दा दोब्बर मत ल्याएर जित्नुभयो । उहाँले ७३५ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेदवारले २६८ र एमालेका उम्मेदवारले ३०२ मत ल्याउनुभएको थियो । 

स्थानीय निर्वाचन २०७९ मा पनि हलो चुनाव चिह्न लिएर उठेका उहाँले प्रमुख दलहरूलाई पछाडि पार्दै ८५७ मत ल्याएर विजयी हुनुभयो । यस पटक नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्र देवजू श्रेष्ठले ५३६ र एमालेका उम्मेदवार अमित कोजूले ३१३ मत ल्याउनुभयो । 

उहाँले यस पटक पराजित गर्नुभएका दीपेन्द्र रामचन्द्रका नाति र जितकृष्णका भानिज हुनुहुन्छ । रामचन्द्रकी छोरीतर्फका नातिलाई उहाँले पराजित गर्नुभएको हो । तर यो संयोग मात्र रहेको रोमीले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले परिवारकै सबैलाई हराउन उठेको थिइनँ तर संयोग त्यस्तै परेछ ।”