• १७ मंसिर २०८१, सोमबार

विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्याण्डका वैज्ञानिक

blog

वेलिङ्गटन, मङ्सिर १७ गते । न्युजिल्याण्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् । न्युजिल्याण्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा मृत भेटिएको कोदालीपाते दाँत भएको र चुच्चो मुख भएको समुद्रको गहिराइमा बस्ने स्तनपायी जनावर ह्वेलको अध्ययन गर्ने मौका मिलेको हो ।

पाँच मिटर (१६.४ फिट) लामो उक्त ह्वेललाई जुलाईमा समुद्र किनारबाट निकालिएको थियो र त्यसपछि उसलाई विशेष ‘फ्रिजर’मा राखिएको थियो । ह्वेल विशेषज्ञ एन्टोन भ्यान हेल्डेनका अनुसार वैज्ञानिकहरूले पहिलो पटक कोदालीपाते दाँत भएको ह्वेलको नमुनाको विश्लेषण गर्ने अवसर मिलेको हो ।

“यो एक उल्लेखनीय र विश्वव्यापी रूपमा महत्त्वपूर्ण अवसर हो,” उहाँले भन्नुभयो । सप्ताहव्यापी विश्लेषणले ह्वेलको व्यवहार, यसको आहार र यसको आधारभूत शरीर रचनाको बारेमा अहिलेसम्म प्राप्त गर्न नसकिएका जानकारी लिन मद्दत गर्नेछ ।

भ्यान हेल्डेनले भन्नुभयो, “चुच्चे ह्वेल संसारमा पाइने ठूला स्तनधारीहरूको सबैभन्दा रहस्यमय ह्वेल प्रजाति हो । उहाँले भन्नुभयो, “तिनीहरू गहिरो स्थानमा रहने ‘गोताखोर’ हरू हुन् जसलाई समुद्रमा विरलै देखिन्छ र यी समुद्री जनावरहरूको अनुसन्धानका लागि कमै अवसरहरू मिल्ने गर्छ ।”

“संसारको कुनै पनि ठाउँबाट ज्ञात सातौं नमुना मानिएको यो दुर्लभमध्ये सबैभन्दा दुर्लभ जन्तु हो र हामीले यसको चिरफार गरी अध्ययन गर्ने दुर्लभ अवसर पाएका छौँ ।”

न्युजिल्याण्डको संरक्षण विभागले कोदालीपाते दाँत भएको ह्वेल ‘विश्वकै दुर्लभ ह्वेल’ भएको बताएको छ । सन् १८७४ मा न्युजिल्याण्डको पूर्वी तटमा रहेको चाथम टापुबाट सङ्कलन गरिएको तल्लो बङ्गारा र दुईवटा दाँतबाट यो प्रजातिको वर्णन गरिएको थियो ।

उक्त नमुना र न्युजिल्याण्ड र चिलीमा भेटिएका अन्य दुई नमुनाका कङ्कालका अवशेषले वैज्ञानिकहरूलाई नयाँ प्रजाति पुष्टि गर्न आधार दिएको थियो ।

यति कम नमुनाहरू फेला परेका छन् र त्यहाँ कुनै जीवित दृश्यहरू छैनन्, कोदालो–दाँतेदार ह्वेललाई न्युजिल्याण्ड थ्रेट वर्गीकरण प्रणाली अन्तर्गत तथ्याङ्क कम भएको जनावरको रूपमा वर्गीकृत गरिएको छ । रासस/एएफपी