रवीन्द्र उप्रेती
बर्दिबास, मङ्सिर १७ गते । महोत्तरीको रामगोपालपुर २ मा वडाध्यक्ष पदमा एमाले उम्मेदवार सकिवुल खाँ विजयी हुनुभएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा एमालेका खाँले ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गर्नुभएको छ । यादव दिवङ्गत वडाध्यक्ष मुकेश यादवकी श्रीमती हुनुहुन्छ ।
त्यस्तै नेपाली काँग्रेसका मोहमद जनिफ खाँले २८४ मत प्राप्त गर्नुभएको रामगोपालपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनमा ७ राजनीतिक दल र ११ स्वतन्त्र गरी १८ उम्मेदवार प्रतिस्पर्धा गरेकामा जनता समाजवादी पार्टी नेपालका मोहमद नजामुद्दिन खानले ३८, राष्ट्रिय जनता पार्टी नेपालका राजेशकुमार यादवले ५, राष्ट्रिय स्वतन्त्र पार्टीका खुरसैद खाँले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मनान खाँले २ मत प्राप्त गर्नुभएको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनमा १ (एक) मत पनि नपरेका स्वतन्त्र उम्मेदवारहरू चर्चामा छन् ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार उपनिर्वाचनमा १ हजार ५१४ मत खसेकोमा १४ मत बदर भएका थिए । प्रतिस्पर्धी उम्मेदवार एमाले, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाहेक बाँकी उम्मेदवारले ३ प्रतिसतभन्दा कम मत प्राप्त गरेको जनाइएको छ ।
परिणाम घोषणापछि एमालेका सकिवुल खाँलाई मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले विजयी भएको प्रमाण पत्र वितरण गर्नुभएको थियो ।