• २० असोज २०८१, आइतबार

घट्दै भन्सार राजस्व

blog

भैरहवा, जेठ ५ गते। भैरहवा भन्सार कार्यालयले पाँच महिनादेखि राजस्व सङ्कलनको लक्ष्य भेट्न सकेको छैन । यो भन्सार कार्यालयलाई आव २०७८/७९ का लागि विभागले एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख रुपियाँको वार्षिक लक्ष्य दिएको छ । चालू आर्थिक वर्षको १० महिना बितिसक्दा राजस्व सङ्कलन वार्षिक लक्ष्यको ७७ दशमलव २१ प्रतिशत मात्रै हासिल भएको छ । वैशाख महिनामा सात अर्ब ५५ करोड ६६ लाख रुपियाँ राजस्व असुली भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले जानकारी दिनुभयो । यो मासिक लक्ष्यको ७४ दशमलव ४३ प्रतिशत मात्रै हो । 

गत आर्थिक वर्ष लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको र आव २०७८/७९ को सुरुदेखि राजस्व सङ्कलनमा लक्ष्य हासिल गर्दै आएको भैरहवा भन्सार कार्यालयले पुसदेखि लक्ष्य भेट्न नसकेको हो । गत पुस ५ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैङ्कले १८ वटा शीर्षकका विलासिताका वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोलेर शतप्रतिशत र दुईवटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै आयातमा कमी आएको हो । 

भैरहवा भन्सार कार्यालयको तथ्याङ्कअनुसार लगातार पाँच महिनादेखि आयातमा गिरावट आएकाले राजस्व सङ्कलन प्रभावित भएको छ । कार्यालयले गत पुसमा ८७ दशमलव १३, माघमा ७१ दशमलव ५८, फागुनमा ७६ दशमलव ४५, चैतमा ७३ दशमलव ९६ र वैशाखमा ७४ दशमलव ४३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

वैशाखदेखि थप केही वस्तुको आयात पूर्ण रूपमा बन्देज लगाएपछि यसको असरले पनि लक्ष्य प्राप्ति नहुने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ गतेदेखि १० वटा शीर्षकको आयातमा पूर्ण बन्देज लगाएको नेपाल राजपत्रमा उल्लेख छ । पूर्ण बन्देज लगाएका वस्तुमध्ये अधिकांश शीर्षकका वस्तु हवाई मार्गबाट आउने गरेको छ ।

पैठारी पूर्ण बन्देज भएको वस्तुहरू कुरकुरे, लेजलगायतका वस्तु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, मोबाइल सेट, ३२ इन्चभन्दा ठूला रङ्गीन टीभी, जिप, कार, भ्यान, २५० सीसीमाथिको मोटरसाइकल, सबै प्रकारको खेलौना र खेल्ने तास रहेका छन् । यी वस्तुमध्ये जिप, कार, भ्यान र मोटरसाइकल भैरहवाबाट धेरै भित्रिने गरेका वस्तु हुन् । आयात बन्देजको सूचना जारी हुनुअघि नै नै आयात प्रक्रिया सुरु भएकाले अहिलेसम्म यसको आयात प्रभावित भएको छैन । 

सूचना अधिकारी पासवानका अनुसार साउनदेखि हरेक महिना १० अर्बको हाराहारीमा लक्ष्य थियो । दैनिक छ सात सय मालवाहक गाडी जाँचपास हुँदै आएको कार्यालयमा अहिले दुई सयको हाराहारीमा मात्रै मालवाहक गाडी भित्रिरहेका छन् ।