• १२ पुस २०८१, शुक्रबार

एक सय साठी वर्ष पुरानो रुख

blog

तातोपानी गाउँपालिका वडा नं. १, राँकाबिच गाउँमा १६० वर्ष पहिलादेखि उस्तै अवस्थामा रहेको देवदारुको रूख ।

प्रेमराज सिम्खडा           

कालीकोट, मङ्सिर १६ गते । गाउँको बिचमा रहेको देवदारुको रुख सय वर्ष पहिलादेखि ठडिएको देखिन्छ । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–१ को वडा कार्यालयअगाडि उत्तरतर्फ क्षेत्रबहादुर कठायतको घरकै आडमा रुख १६० वर्षदेखि उस्तै छ । 

वडा नं. १ का वडाध्यक्ष कर्णबहादुर कठायतले आफ्नो बाजे बालक हुँदादेखि यो रुख यही प्रकृतिको रहेको बताउनुभयो । “म अहिले ५८ वर्षको भएँ । आफू जान्ने हुने समय पनि यस्तै थियो । मेरो बाजेले पनि यस्तै देख्नुभयो । बुवा ५४ वर्षमा बित्नुभयो । मेरै तीन पुस्ता भयो । यो तीन पुस्तासम्म यो रुख यस्तै सुकेको अवस्थामा छ ।”

सरदर १६० वर्षदेखि रुख यही अवस्थामा रहेको अध्यक्ष कठायतले सुनाउनुभयो । देवदारूलाई एक हजार वर्ष खडा अर्थात् ठाडो हुन्छ भने एक हजार वर्षसम्म ढलेर पनि नसड्ने हुन्छ भनेर भन्ने गरेका छन् । तीन पुस्ता पहिला जस्तै वडाध्यक्षका बाजेले समेत यो रुखलाई हरियो देख्नुभएन । “अहिले गाउँमा बुढापाका छन् । कसैले पनि हरियो देखेनन्, रुखको माथि हाँगा अहिले नै झर्ला जस्तो देखिन्छ तर बाक्लो हिमपात हुँदा र ठुलो हावा चल्दासमेत हाँगा झरिरहेको छैन,” उहाँले भन्नुभयो ।