• ७ जेठ २०८१, सोमबार

काठमाडौंको फोहोर पाँच दिनभित्र उठिसक्ने महानगरको दाबी

blog

काठमाडौंको टेकुमा फालिएको फोहोरको थुप्रो । तस्बिर : विकास द्वारे

काठमाडौं, जेठ ४ गते । काठमाडौंको सडमा थुप्रिएको फोहोर तत्काल कुनै अवरोध सृजना नभए पाँच दिनभित्र उठिसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीय निर्वाचन अघिदेखि सडकमा थुप्रिएको फोहोर मंगलबारबाट उठाउन थालिएको छ । 

यदि नुवाकोटको ल्याण्डफिल्ड साइडमा स्थानीयले अवरोध नगर्ने हो र पानी परेर बाटो नविग्रने हो भने सहरका सडकमा थुप्रिएको फोहोर पाँच दिनमा उठिसक्ने काठमाडौं महानगरका वातावरण विभागका प्रमुख सरिता राईले बताउनुभयो । राईले भन्नुभयो, ‘सडकमा निर्वाचन अघिदेखी फोहोर थुप्रिएको थियो । मंगलबारबाट ल्याण्डफिल्ड साइडमा लैजान सुरु गरिएको छ । केही अवरोध आएन भने पाँच दिनमा सडकको फोहोर उठिसक्छ ।’

फोहोर खसाल्नको लागि ल्याण्डफिल्ड साइडको माथि जानुपर्ने भएकाले पानी परे माथि उकालो चढ्न नै समस्या हुने भएकाले बर्षात भए फोहोर उठाउन समस्या  हुने राई बताउनुहुन्छ ।काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको ल्याण्डफिल्ड साइडमा केही व्यवस्थापन गर्नुपर्ने भएकाले १५ दिन अघिदेखि सडकको फोहोरलाई सानो सवारी साधामा उठाएर टेकुस्थित ट्रान्सफर स्टेसनमा राखिँदै आएको थियो । तर, टेकुका स्थानीयले लामो समयसम्म फोहोर  राख्दा दुर्गन्ध फैलिएको भन्दै अवरोध गरेपछि सडकको फोहोर उठ्न सकेको थिएन ।  हाल ल्याण्डफिल्ड साइडको समस्या सल्ट्याइएपछि फोहोर लैजान थालिएको हो । 

विभाग प्रमुख राई उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा महानगरलाई मात्र छाड्न नहुने पनि बताउनुहुन्छ । ‘उपत्यकामा काठमाडौं महानगरको मात्र हिस्सा छैन, ललितपुर महानगर लगायत अन्य स्थानीय तहको पनि हिस्सा छ । अरु स्थानीय तहको पनि महानगरले जिम्मा लिनु परिरहेको छ,’ उहाँले भन्नुभयो । सबै स्थानीय तहहरुले एक आपसमा समन्वय गरेर फोहोर व्यवस्थापनमा जानुपर्ने राईको भनाई छ । 

राईका अनुसार उपत्यकामा उत्पादन हुने फोहोरमा महानगरको हिस्सा  ७५ प्रतिशत रहेको छ । तर, अन्य स्थानीय तहले पनि फोहोर व्यस्थापनका विषयमा सोचे महानगरलाई मात्र भार नहुने उहाँ बताउनुहुन्छ । ‘काठमाडौंको फोहोर किन उठ्दैन भनेर महानगरलाई मात्र प्रश्न आउछ । जब कि महानगरको ७५ प्रतिशत हिस्सा छ । अरु अन्य स्थानीय तहको हिस्सामा पर्छ । अन्य पालिकाले खासै चासो देखाईरहेका छैनन् । यदि अन्य पालिकाले पनि महानगरसँग समन्वय गरेर फोहोर व्यवस्थापन गर्न सके समस्या छिटो समाधान हुन्छ,’ राईले भन्नुभयो । 

हाल ल्याण्डफिल्ड साइड आसपासका स्थानीय बासिन्दाको अवरोध भने छैन । फोहोरले ल्याण्डफिल्ड साइड भरिइसकेकाले स्थानको अभाव रहेको उहाँको भनाइ छ । फोहोर व्यवस्थापन गर्नका लागि काठमाडौंबाट माटोसहित स्काभेटर नै लैजानुपर्दछ । ‘काठमाडौंबाट फोहोर उठाएर भञ्ज्याङ्ग कटाएपछि मात्र सबै समस्या समस्या समाधान हुन्छ भन्ने सोच्छौँ तर त्यहाँ व्यवस्थापनको प्रकृया लामो हुन्छ । विभाग प्रमुख राईले भन्नुभयो, ‘वातारणलाई प्रभाव नपारेस् भनेर फोहोरलाई पटक पटक पेलेर जमीन खनेर पुरीसकेपछि औषधी छर्केर पुनः पेल्नुपर्छ ।’

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।