• १८ मंसिर २०८१, मङ्गलबार

सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ पहिलो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते ।  शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ ले एक लाख नगद पुरस्कार जितेको छ । ओस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्ट्डिज) द्वारा आयोजित ‘दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ पहिलो भएको हो । प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ ले दोस्रो र तेस्रो स्थान हासिल गर्दै क्रमशः ५० हजार र २५ हजार नगद जितेका छन् । देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सनमा पर्न सफल चलचित्र बन्यो ।  

पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघुचलचित्र प्रदर्शन गरिएका थिए ।  २० वर्षमुनि उमेर समूहलाई लक्षित यो प्रतिस्पर्धामा सहभागीलाई आठदेखि १५ मिनेटसम्मका फिल्म पठाउन कात्तिक पहिलो सातासम्मको समयसीमा तोकिएको थियो । कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी चलचित्र प्राप्त भएका र त्यसबाट अन्तिम नौ छनोट गरिएको जानकारी दिनुभयो । चलचित्र निर्माणमा उदीयमान प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्न यो प्रतियोगितालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “चलचित्र अत्यन्तै सिर्जनात्मक विधा हो र युवाको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरेका हौँ ।”

युवा चलचित्रकर्मीमा विश्वास र लगानी गर्दा चलचित्र क्षेत्रमा अर्को पुस्ता तयार हुने उहाँको भनाइ छ । पहिलो, दोस्रो, तेस्रो र स्पेसल मेन्सनमा पर्न सफल चलचित्रकर्मीले ओस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन् ।