• १४ मंसिर २०८१, शुक्रबार

गलत डिजाइनले राज्य र जनता पीडित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । उपप्रधानमन्त्री एवं तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले खराब इन्जिनियरिङ डिजाइनका कारण पूर्वाधार निर्माणका क्षेत्रमा अपेक्षित लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको बताउनुभएको छ । उहाँले गलत डिजाइनका कारण राज्य र जनतासमेत पीडित हुनु परेको उल्लेख गर्नुभयो ।

काठमाडौँमा बिहीबारदेखि सुरु भएको जियो इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “विकासोन्मुख राष्ट्रका रूपमा नेपाल प्राकृतिक घटना मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचना र अपर्याप्त डिजाइन मापदण्ड र निर्माण प्रविधिका कारणले पनि पीडित हुनु परेको छ ।” उहाँले नेपालमा ‘जियोटेक्निक्स’ प्रयोगमा चुनौती देखिएको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तन र विश्वव्यापी उष्णीकरणले पनि पछिल्लो समय धेरै समस्या खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा विज्ञान, इन्जिनियरिङ र जियो इन्जिनियरिङका क्षेत्रमा धेरै चुनौती छन् । सबै मिलेर यसको सामना गर्नु पर्छ ।”

शुक्रबारसम्म चल्ने यस सम्मेलनमा २५ भन्दा बढी देशका करिब १५० भन्दा अन्तर्राष्ट्रिय प्रतिनिधिसहित तीन सय जनाभन्दा बढी सहभागी छन् । सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता र ९० भन्दा बढी प्राविधिक कार्यपत्र प्रस्तुत हुने आयोजक संस्था नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष मन्दीप सुवेदीले जानकारी दिनुभयो ।