अमृतप्रसाद पौडेल
म्याग्दी, मंसिर १३ गते । हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०८०–८१ मा पाँच जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । गत वर्ष दुई हजार दुईसय जनाको नमुना परीक्षण गर्दा पाँच जनामा मात्र संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सदरमुकाम बेनीमा एचआइभी एड्ससम्बन्धी लान्छना र भेदभाब विषयक अभिमुखिकरणमा बिहीबार सरोकारवालासँग अभिमुखीकरणका क्रममा उक्त जानकारी गराइएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा भएको अभिमुखीकरण जिल्लामा एचाआइभी संक्रमितको तथ्य जानकारी गराइएको थियो ।
साथै एचआईभी एड्स संक्रमितलाई समाजमा गरिने अपमान, भेदभाव र दुव्र्यवहारको विश्लेषण गर्न, दुव्र्यवहार र मानव अधिकारको सम्बन्ध तथा स्थानीयस्तरमा हुने गरेका सम्भावित दुव्र्यवहारको पहिचान गर्ने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको थियो । अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सुजता पोखरेलले एचआइभी एड्सको बारेमा देशभरीको अवस्थाको साथै गण्डकी प्रदेश र म्याग्दी जिल्लाको अवस्थाको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी अर्का जनस्वास्थ्य अधिकृत कमल रानाभाटले एचआइभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव र नीतिगत व्यवस्थाको विषयमा सहजीकरण गर्नुभएको थियो ।
गत आर्थिक वर्ष २०८०–८१ मा म्याग्दीमा २ हजार २ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमणको पहिचान भएको बताउनुभएको थियो । म्याग्दीमा हालसम्म एकसय २४ जनामा एचाईभी संक्रमण पुष्टि भएकोमा तीमध्ये ८८ जनाले नियमित रुपमा औषधी प्रयोग गरिरहेका बताइएको छ ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एचआइभी एड्स प्राणघातक रोगबाट अहिले संक्रामकजन्य रोगमा झरेको बताउनुभयो । उहाँले एचआइभी संक्रमित पुष्टि भएकालाई समाजले लगाउने लाञ्छना र गर्ने दुव्र्यवहारको विरुद्धमा सरोकारवाला निकाय सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।