• १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन बिहीबार पेस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गर्नुभएको हो । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसदमा प्रस्तुत गरिने व्यवस्था छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँचवर्षे कार्यकालमा निर्णय भएका ‘महत्त्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरियो ।

प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबिच सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्स्याैट गरिएको जानकारी गराउनुभयो । वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मङ्सिर २३ गते सकिँदैछ ।