• १३ मंसिर २०८१, बिहिबार

बिछोडको पीडा (निबन्ध)

blog

अस्मिता चौहान

कक्षाः १०, हर्रेचिन्डे मावि 

मन्थली, रामेछाप 

नियमित प्रक्रिया– सानामा स्कुलमा जान मन नलाग्ने, ठुलो भएपछि स्कुल छाड्न मन नलाग्ने । कक्षा १० पुग्दै गर्दा साथी र स्कुल छाड्ने कुरा ग¥यो कि मन कटक्क दुख्ने रहेछ । विद्यालय दोस्रो घर र शिक्षक दोस्रा अभिभावक भए जस्तै साथीहरू पनि दिदीबहिनी र दाजुभाइ जस्ता बन्न पुगिँदोरहेछ । 

सानामा बाआमाले छोराछोरीको भविष्य बनाउन भनी स्कुल भर्ना गरिदिनुहुन्छ तर घर छोडेर दिनभरका लागि स्कुल जानै मन लाग्दैन । अनि परिवारका सदस्यले तान्दै र रुवाउँदै स्कुल पु¥याउनुहुन्छ । विस्तारै विस्तारै घुलमिल हुन थालिन्छ । दिनभरि स्कुलमा टिक्ने बानी बस्न थाल्छ । नयाँ स्कुल, नयाँ परिवेश, नयाँ शिक्षक, नयाँ साथी देखेर हच्किनुको साटो सबैलाई आफ्ना बन्नु/बनाउनु सानो कुरा होइन, त्यो पनि बच्चा बेलामा । विस्तारै स्कुल जाने बानी भई शिशु कक्षामा बसेर तोते बोलीले कखरा पढ्नु अनि विस्तारै अरू साथी बनाई अघि बढ्नु पनि ठुलै कुरा लाग्दो रहेछ । 

यसरी नै अघि बढेको हाम्रो बाल्यकाल र पढाइ आज कति छिटो अघि बढिसकेछ । जति ठुलो भयो उति पढाइ र जिम्मेवारी थपिँदै जाने रहेछ । हाँस्दा सँगै हाँस्ने अनि रुँदा सँगै रुने साथीहरूलाई छाडेर जाने बेला आइहाल्छ । दिन, हप्ता, महिना र वर्ष बितेको पत्तै हुँदैन । सुखदुःख साट्ने सपना साटेका हामी साथीहरू भोलि को कता पुग्छौँ, पत्तो छैन । स्कुल जीवनमा रुँदा आँसु पुछिदिएका हातहरू भोलि टाढा हुने छन् । हरेक सिकाइ क्रियाकलाप साथ साथ सहभागी भएका हामी कता पुग्छौँ कता । ‘ब्रेक टाइम’ मा सबै जना मिली खेलिने ती खेलमा केही समयपछि हाम्रा हातका स्पर्श हुने छैनन् । साथ पनि हुने छैन । मुटु सबैको जोडिए पनि भौतिक रूपमा हामी सबै टाढा भइसकेका हुने छौँ ।

अस्ति भर्खर कक्षा ९ उक्लिएको जस्तो लाग्थ्यो । अब त १० कक्षा पनि केही दिनमै सकिने छ । अस्ति कक्षा १० का दाजुदिदीलाई बिदाइ गरियो । अब बिदा हुने पालो आफ्नै आइसके छ । समय कति छिटो कुद्ने रहेछ ? पत्तै चल्दैन । वायुपङ्खी घोडाको गति जस्तै समय मजाले कुद्ने रहेछ, समाउनै पो कठिन । कक्षा १० मा पुग्दा खुसी र गर्व दुवै लागेको छ तर साथी छुट्दाको नरमाइलो उत्तिकै हुने छ । सधैँ सँगै खेलेका साथीहरू छुट्दा कति नरमाइलो हुन्छ होला है ? त्यो अनुभव अब केही महिनामै हामी समकक्षीले गर्नेवाला छौँ । अगाडिका साथीहरूले छाडेर गएको त्यो कोठा अहिले हाम्रो भएको छ । हामी हिँडेपछि तल्लो कक्षाको हुने छ । कोठाहरूले पनि हामीलाई बिदाइ गर्ने छन् । साथी र विद्यालयसँग जोडिएका पल अविस्मरणीय हुने छन् । आखिर जिन्दगी भनेकै भेटिनु र छुट्टिनु संयोग त रहेछ । त्योबाहेक केही पनि होइन । 

बाल्यकाल जीवनकै स्वर्ण काल हो । यो स्वर्ण समय कहिल्यै फर्केर आउँदैन । आउँछ त केवल हामीलाई बुढो बनाउन अर्को वर्ष । हामीले बिताएका रमाइलो र खुसीका पल कहिल्यै फर्केर आउनेवाला छैनन् । सानो छँदा साना कुरामा झगडा गरेर बस्ने हामी अहिले रमाइलो कुरा गरेर समय बितेको पत्तै पाउँदैनौँ । आधुनिक सञ्चार र सामाजिक सञ्जालले हामीलाई टाढा हुन नदेला तर सशरीर, स्पर्श गरेर आत्मीयता साटेका मन अवश्य टाढा हुने छन् । छुट्न त कसलाई पो मन हुन्छ र ! अतिरिक्त क्रियाकलाप, रेडक्रस, बालसमूह, स्काउटका तालिम, छलफल, वादविवादका ती साथ पाउने छैनौँ अब । सँगै झोला बोकेर अघिपछि गर्दै हिँडेका पाइला मोडिने छ । सशरीर हाम्रो भेट सधैँ हुन पनि सक्छ, नहुन पनि सक्छ । हामी जहाँ भए/रहे पनि साथीसँगाती, विद्यालय एवं आफ्नो गाउँठाउँ भुल्नु हुँदैन । हाम्रा पथप्रदर्शक शिक्षकलाई त झन् भुल्नै हुँदैन ।    

 मुना