• १३ मंसिर २०८१, बिहिबार

इवाओलाई दुर्लभ सफाइ

blog

जापानी इवाओ हाकामादाले मृत्युदण्ड सुनाइएको ५६ वर्षपछि दुर्लभ सफाइ पाएका छन् । एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा उनलाई सन् १९६८ मा मृत्युदण्डको फैसला सुनाइएको थियो ।

जापानको अदालतले ५६ वर्षअघि सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याउँदै ८८ वर्षीय इवाओलाई हत्याको अभियोगमा सफाइ दिएको छ । उनीविरुद्ध यसअघि निर्णय सुनाइँदा प्रयोग गरिएको प्रमाण पनि नक्कली भएको ठहर भएको छ ।

इवाओ संसारमै सर्वाधिक समय मृत्युदण्डको पालोमा राखिएका व्यक्ति हुन् । उनलाई आफ्ना मालिक, उनकी पत्नी र उनीहरूका दुई सन्तानको सन् १९६६ मा हत्या गरेको अभियोगमा मुद्दा चलाइएको थियो । त्यसको दुई वर्षपछि उक्त मुद्दाको फैसला भयो ।

छानबिनकर्ताले नक्कली प्रमाण पेस गरेको आशङ्कामा केही समयअघि इवाओविरुद्धको मुद्दाको फेरि सुनुवाइ हुने निर्णय भएको थियो । साढे पाँच दशकभन्दा लामो समय मृत्युदण्डको पालोमा राखिएको हुनाले उनको मानसिक स्वास्थ्यमा प्रभाव परेको छ । फेरि भएको सुनुवाइमा उनी उपस्थित भएनन् तर उक्त सुनुवाइपछि अदालतले उनलाई पुरानो मुद्दामा सफाइ दिँदै मृत्युदण्डको फैसला उल्ट्याइदियो ।

सिजुओकास्थित अदालतले यो फैसला गरेको थियो । सन् २०१४ मा फेरि सुनुवाइ हुने निर्णयसँगै जेलमुक्त भएपछि इवाओ आफ्नी दिदीको संरक्षकत्वमा बस्दै आएका छन् ।

इवाओ व्यावसायिक बक्सर थिए । सन् १९६६ ताका उनी जापानी परिकारमा प्रयोग हुने ‘मिसो’ प्रशोधन गर्ने एउटा उद्योगमा काम गर्थे । एक दिन उक्त उद्योगका मालिक, उनकी पत्नी र उनीहरूका दुई सन्तानको शव टोकियोको पश्चिममा रहेको सिजुओकास्थित घरमा भेटियो । ती चार जनाको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो । इवाओमाथि उनीहरूको हत्या गरेको, घरमा आगो लगाएको र दुई लाख यन चोरेको आरोप लाग्यो ।

सन् १९६८ मा अदालतले उनले हत्या र आगजनी गरेको ठहर गर्दै मृत्युदण्ड हुने फैसला सुनाइएको थियो ।   

–युवामञ्च