• १३ मंसिर २०८१, बिहिबार

गाउँमै डेरी खुल्दा किसानलाई फाइदा

blog

धनकुटाको महालक्ष्मी–२ मा रहेको दाजुभाइ डेरी उद्योगमा दुधबाट नौनी घिउ छुट्याउँदै सञ्चालक सीताराम कटुवाल ।

कविराज घिमिरे

हिले, मङ्सिर १३ गते । गाउँमै डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषक विभिन्न समस्याबाट मुक्त भएका छन् । 

अहिले अन्य क्षेत्रका कृषकले महिनौँसम्म भुक्तानी नपाउँदा यहाँ स्थानीयलाई न भुक्तानीमा समस्या छ न त उत्पादन भएको दुधलाई बजारको समस्या नै । जति दुध उत्पादन हुन्छ गाउँमै बिक्री हुन्छ । स्थानीय वीरबहादुर मगर डेरी उद्योग गाउँमै स्थापना भएपछि धेरै सहज भएको बताउनुहुन्छ । “गाउँमा डेरी नहुँदा हामी थोरै दुध उत्पादन गर्ने कृषक छोड्ने अवस्थामा पुगेको थियौँ तर अहिले गाउँमै डेरी उद्योग आएपछि धेरै सहज भएको छ,” मगर भन्नुहुन्छ ।

दुध सङ्कलन गर्ने डिडिसीको डिपोसम्म पु¥याउन पनि निकै समस्या थियो । बर्खाको समयमा त बाटो भत्किँदा डिपोसम्म दुध  पु¥याउन नपाउँदा बाटैबाट फर्काउनु पर्दथ्यो । उहाँले भने जस्तै गाउँमा डेरी नहुँदा तीन वर्षअघिसम्म धनकुटाको महालक्ष्मी नगरपालिका–२, मूलखर्कका कृषक दुध बेच्न घन्टौँ हिँड्नु पथ्र्यो । डिडिसी तथा अन्य निजी डेरीलाई दुध बेच्नु पथ्र्याे । कहिले दुध बिदा (मिल्क होलिडे) त कहिले समयमै भुक्तानी नपाउँदा कृषकले निकै दुःख खेप्नु परेको थियो । पछिल्लो समय दुग्ध विकास संस्थानले दुधको भुक्तानी समयमा नदिँदा धेरै कृषकलाई यो पेसा निल्नु न ओकल्नु बनेको छ । महिनौँ भुक्तानी नपाउँदा कृषक समस्यामा छन् । 

महालक्ष्मी नगरपालिका–२ मा भने गाउँमा उत्पादन गरेको दुध गाउँमै खपत हुन्छ । न दुध नबिक्ला भन्ने पीर छ न दुधको भुक्तानीको चिन्ता । जति दुध उत्पादन हुन्छ, गाउँकै डेरीमा ल्याउँछन् र महिना मरेपछि पैसा पाउँछन् । अहिले दुध बिक्री र भुक्तानीमा कुनै समस्या नरहेको स्थानीय राजन कटुवाल बताउनुहुन्छ । हामीलाई न दुध बेच्न समस्या छ न भुक्तानीका लागि महिनौँ पर्खनु पर्छ अन्यत्र समस्या छ भन्ने सुनिन्छ तर हाम्रोमा कुनै समस्या छैन कटुवाल भन्नुहुन्छ । 

स्थानीय सीताराम कटुवालले गाउँमै दाजुभाइ डेरी उद्योग सञ्चालनमा ल्याउनुभएको हो । सुरुमा करिब तीन लाख लगानी गरेर सुरु गरेको डेरी उद्योगमा अहिले लगानी करिब १० लाख नाघेको छ । गाउँमा डेरी उद्योग स्थापना भएर दुध खपत हुन थालेपछि गाउँमा दुग्ध उत्पादक कृषक तथा दुध उत्पादनसमेत बढेको छ । 

तीन वर्षअघि डेरी सुरु गर्दा करिब दैनिक तीन सय लिटर मात्र दुध सङ्कलन हुने गरेकोमा अहिले दैनिक आठ सय लिटरभन्दा बढी दुध सङ्कलन हुन्छ । यहाँका करिब १५० परिवार दुग्ध उत्पादन व्यवसायमा आबद्ध छन् । सङ्कलन भएको दुधबाट घिउ र छुर्पी बन्छ र तराईका बजारमा निकासी हुन्छ ।