• २१ पुस २०८१, आइतबार

निर्वाचन आयोगले काठमाडौं–१६ र कीर्तिपुरमा खटायो अनुगमन टोली

blog

काठमाडौं, मङ्सिर १२ गते । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले यही मङ्सिर २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले निर्वाचन प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना भए नभएको अनुगमन गर्न काठमाडौं १६ र कीर्तिपुर नगरपालिकामा अनुगमन टोली खटाएको जानकारी दिनुभयो ।

प्रवक्ता अर्यालका अनुसार काठमाडौं–१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिग्विजय सुवेदी, उपसचिव (कानुन) सीता पुन श्रीष र प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको छ ।

यसैगरी, कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) अशोक न्यौपानेलाई खटिइएको जानकारी उहाँले दिनुभयो ।

आयोगले उपनिर्वाचन हुने प्रत्यस स्थानीय तहमा प्रचारप्रसारको सूक्ष्म अध्ययन अनुगमन गरिरहेको जनाएको छ । आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को व्यवस्था अनुसार उम्मेदवारी रद्द गर्न सक्ने जानकारी आयोगले दिएको छ ।