• १२ मंसिर २०८१, बुधबार

कर्णाली बैंकलाई निक्षेप सङ्कलन गर्न र कर्जा दिन रोक

blog

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत सो बैंकले कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले उक्त रोक लगाएको हो ।

निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा उक्त कारवाही गरिएको हो । सो कारवाही आजैका मितिदेखि लागू हुनेछ । 

सो बैंकले थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।