• ११ वैशाख २०८१, मङ्गलबार

ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते

blog

दुर्घटनामा परेको ट्रयाक्टर । तस्विरः चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–६ को बतासेमा ना ६ त ४७४३ नम्बरको ट्याक्टर चारजना घाइते भएका हुन् ।

सुकेटारदेखि सदरमुकाम फुङ्लिङ बजारतर्फ जाँदै गरेको उक्त ट्याक्टर मङ्गलबार साँझ सडकदेखि करिव २० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा परी ट्याक्टरमा सवार फुङ्लिङ नगरपालिका–११ फावाखोलाका १८ वर्षीय प्रकाश बुढाथोकी, सोही वडाका २२ वर्षीय बिक्रम लिम्बू घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका ६१ वर्षीय पूर्णहाङ लिम्बू र सिकैँचाकै २१ वर्षीय सिपन लिम्बू घाइते हुनुभएको छ । दुर्घटनाका घाइते चारैजनाको अवस्था गम्भीर भएकाले उहाँहरुलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

यता ट्रयाक्टरका चालक फुङ्लिङ नगरपालिका–११ फावाखोलाका २३ वर्षीय रत्नबहादुर लिम्बूलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पनि प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।