जहानियाँ राणा शासनको १०४ वर्षे समयावधि रैतीका लागि कालरात्रिको अवस्था थियो । त्यतिबेला शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत सेवासुविधाबाट जनता वञ्चित थिए । तथापि प्रधानमन्त्री जङ्गबहादुरले बेलायत भ्रमणबाट फर्केपछि उनी त्यहाँको विकास, शैक्षिक प्रगति र शिक्षाका कारण ब्रिटिसहरूको स्वभाव, व्यवहार र चिन्तन शैलीबाट प्रभावित भएका थिए । सोही कारण प्रधानमन्त्री जङ्गबहादुरले आफ्ना छोरा भतिजालाई पढाउने उद्देश्यले विसं १९१० असोज २७ गते थापाथलीस्थित आफ्नो दरबार स्कुल खोले ।
दरबार स्कुलका नामले चिनिने थापाथली स्कुलको आरम्भिक दिनमा त्यहाँ कक्षा विभाजन थिएन । योग्यता अनुसार विद्यार्थीहरू (जङ्गबहादुरका छोरा–भतिजा) लाई अङ्गे्रजी, गणित, इतिहास पढाइन्थ्यो । थापाथलीबाट उक्त स्कुल सर्दै सार्दै चारबुर्जा (हाल निर्वाचन आयोगको कार्यालय) पुग्यो । चारबुर्जाबाट जमलस्थित धीरशमशेरको निवास पुगेको दरबार स्कुल त्यहाँबाट नारायणहिटी दरबारको सानुचोकमा सारियो । नारायणहिटी सानुचोक पुगेपछि दरबार स्कुल हाइस्कुलमा परिणत भयो र १० कक्षासम्म पढाइ हुन थाल्यो ।
रणोदीप सिंह श्री ३ महाराजा बनेपछि स्कुलमा राणाहरूको सेवामा कार्यरत कर्मचारीका छोराले समेत स्कुलमा पढ्न पाए । १९४० सालतिर दरबार स्कुललाई पुनः थापाथली दरबारमा सारियो । १९४२ सालमा ठूलो बुवा रणोद्वीपसिंहको हत्या गरी वीरशमशेर प्रधानमन्त्री बने । रणोद्वीप सिंहको हत्याको योजनाकार वीरशमशेरसँगै खड्गशमशेर र चन्द्रशमशेरसमेत थिए । वीरशमशेरको पालामा दरबार स्कुल पुनः जमलस्थित सेतो दरबारमा पुग्यो । वीरशमशेरकै कार्यकालमा दरबार स्कुलका लागि रानीपोखरीको पश्चिमपट्टि स्थायी संरचना (भवन) निर्माण गरियो ।
सुरुदेखि नै सरकारी स्कुलका रूपमा रहेको दरबार स्कुल सञ्चालनार्थ प्रधानमन्त्री वीरशमशेरको पालामा गुठीको व्यवस्था गरियो । .वि सं १९५७–१९५८ तिर स्कुल सर्वसाधारणका छोराका लागि समेत खुला गरियो ।
विसं १९५७ फागुनमा प्रधानमन्त्री वीरशमशेरको निधनपछि राणाहरूको रोलक्रम अनुसार देवशमशेर प्रधानमन्त्री बने । चन्द्रशमशेरले कमान्डर इनचिफको जिम्मेवारी पाए । प्रधानमन्त्री बनेका देवशमशेरको पालासम्म पनि दरबार हाइस्कुलको पठनपाठन भाषा नेपाली थिएन । देवशमशेरले नेपालमा पठनपाठनको भाषा के हुने भन्ने विषयमा जयपृथ्वीबहादुर सिंह, हरिहर आचार्य, बटुकृष्ण मैत्रय र मोतीराम भट्टसँग सामूहिक परामर्श लिएका थिए ।
परामर्शमा बटुकृष्ण मैत्रयले अङ्ग्रेजी, हरिहर आचार्यले संस्कृत तथा जयपृथ्वीबहादुर सिंह र मोतीराम भट्टले नेपालीमा पठनपाठन हुनुपर्ने सुझाव दिए । प्रधानमन्त्री देवशमशेरले पछि जयपृथ्वी र मोतीराम भट्टको सुझाव अनुसार पठनपाठनको भाषा नेपाली रोजे । नेपाली भाषामा पठनपाठनका लागि जयपृथ्वीबहादुर सिंहलाई ‘अक्षराङ्ग शिक्षा’ तयार गर्न लगाए । ‘अक्षराङ्ग शिक्षा’ नेपाली भाषाको पहिलो पाठ्यपुस्तक हो । ‘अक्षराङ्ग शिक्षा’ पछि जयपृथ्वीले बालबोध, ज्ञानमाला र श्रेस्ता दर्पण नामक पाठ्यपुस्तक लेखे । देवशमशेरको छोटो शासनकालमा देशका विभिन्न स्थानमा भाषा पाठशाला स्थापना गरिएका थिए ।
प्रधानमन्त्री बनेको १४ दिनमै देवशमशेरलाई धनकुटा धपाएर चन्द्रशमशेर प्रधानमन्त्री बने । चन्द्रशमशेरले सत्ताको बागडोर हातमा लिएपछि उनले देवशमशेरका पालामा खुलेका सबै भाषा पाठशाला बन्द गरेका थिए । जनताका छोराछोरीलाई शिक्षाबाट वञ्चित गर्ने चन्द्रशमशेरको नीति उनका छोरीज्वाइँ जयपृथ्वीबहादुर सिंहलाई मन परेको थिएन । त्यसैले जयपृथ्वीले अड्डा, अदालत र राज्य प्रशासन चलाउन आवश्यक जनशक्तिका लागि भाषा पाठशालाको आवश्यकता अपरिहार्य रहेको बताए । त्यसपछि चन्द्रशमशेर भाषा पाठशालालाई श्रेस्ता पाठशालामा रूपान्तरण गर्न राजी भए । श्रेस्ता पाठशालाको पाठ्यपुस्तक ‘श्रेस्ता दर्पण’ ज्वाइँ जयपृथ्वीलाई लेख्न लगाए । श्रेस्ता दर्पण नेपालमा कानुन विद्याको पहिलो पुस्तक हो ।
राणा प्रधानमन्त्रीहरूमा म्याट्रिक पास गरेका पहिलो र सबैभन्दा लामो समय सत्तामा रहेका राणा प्रधानमन्त्री चन्द्रशमशेरले सत्ता लिएको आरम्भिक दिनमा शिक्षाप्रति अनुदार नीति अपनाएका थिए । पछि उनले आफ्नो अनुदार नीतिमा परिवर्तन ल्याए । विसं १९७५ मा नेपालमा पहिलो त्रिभुवन–चन्द्र कलेज (पछि त्रिचन्द्र कलेज) स्थापना गरे । त्यसअघि नेपाली भाषामा पुस्तक प्रकाशनका लागि विसं १९७० मा ‘गोर्खा भाषा प्रकाशनी समिति’ स्थापना गरेका थिए ।
‘गोर्खा भाषा प्रकाशनी समिति’ स्थापनामा मीर सुब्बा राममणि आचार्य दीक्षितको विशेष भूमिका थियो । गोर्खा भाषा प्रकाशनी समिति विसं १९९० मा ‘नेपाली भाषा प्रकाशनी समिति’ बन्यो । विसं २०२१ मा ‘नेपाली भाषा प्रकाशनी समिति’ ‘साझा प्रकाशन’ मा परिणत भयो । साझा प्रकाशनले त्यतिबेलादेखि विभिन्न लेखकका पुस्तक मुद्रण तथा पुनः प्रकाशन गर्दै आएको छ ।
प्रधानमन्त्री चन्द्रशमशेरका पालाको शैक्षिक इतिहास खोतल्दा त्यतिबेला दरबार हाइस्कुलमा अङ्ग्रेजी, गणित, इतिहास आदि पठनपाठन हुन्थ्यो । श्रेस्ता पाठशालामा ‘श्रेस्ता दर्पण’ नामक कानुन विषयको पाठ्यपुस्तक पढाइन्थ्यो । त्यति बेलाका पाठ्यक्रममा अन्य विषय अङ्ग्रेजी र इतिहासमा के कस्ता विषय समेटिएका थिए ती पाठ्यपुस्तक भेटाउन गाह्रो छ । पङ्क्तिकारको सङ्कलनमा रहेको श्रेस्ता दर्पणमा समावेश विषयहरूमा ‘श्री ५ सर्कारको प्रशस्ति, श्री ३ सर्कारको प्रशस्ति, श्री कम्याण्डर इनचीफको प्रशस्ति, श्री ५ सर्कारका चौतरियाहरूको प्रशस्ति, राजारजौटाको प्रशस्ति, चिठी लेख्न्या काइदा, चिठीका खाममा लेख्न्ने काइदा, अर्काका विन्तिपत्रमा अड्डाले तोक लेख्न्या काइदा, अड्डाले अड्डालाई लेख्न्या काइदा, रसीदको काइदा, पट्टा लेख्न्या काइदा, कबुलियत लेख्न्या काइदा,अड्डाको पूर्जी लेख्न्या काइदा र भर्पाइ लेख्ने काइदा, टिप्पणी लेख्न्या काइदा, मञ्जुरनामा लेख्न्या काइदा, कपाली तमसुक लेखन्या काइदा, भोगबन्धकको तमसुक लेखने काइदा, दृष्टिबन्धक लेखन्या काइदा, फिरादपत्र लेखन्या काइदा, प्रतिउत्तरको काइदा, अपिलपत्र लेखन्या काइदा, झगडियाका दैलामा टास्ने म्याद लेख्न्या काइदा, अख्त्यरनामा लेख्न्या काइदा, काहेलनामा लेख्न्या काइदा, मिलापत्र र जितापत्र लेख्न्या काइदा र फारमपत्रको शिरको बेहोरा’ समावेश छन् ।
यस्तै चन्द्रशमशेरको शासनकाल विसं १९८२ मा बीजगणित विषयको पाठ्यक्रम पङ्क्तिकारको सङ्कलनमा रहेको छ । ‘गोर्खा भाषा प्रकाशनी समिति’ का तर्फबाट प्रकाशकको नाम अङ्ग्रेजीमा “मीर सुब्बा पण्डित राममणि ए.डी. सुपरिन्टेन्डेन्ट एडुकेशन डिपार्टमन्ट नेपाल” भनेर उल्लेख छ । कुल १७३ पृष्ठको उक्त पुस्तक कुन कक्षाका लागि तयार गरिएको थियो भन्ने चाहिँ खुल्दैन । पुस्तकको बाहिरी गातामा ‘श्री गोरखा बीजगणित–शिक्षा’ पहिलो भाग भनेर उल्लेख छ तर कक्षा खुलाइएको छैन ।
पुस्तक प्रकाशन वर्ष संवत् १९८२ छ भने पुस्तकको मूल्य ।६४ पैसा रहेको छ । पुस्तकमा समेटिएका पाठमा ‘बीजगणितको चिह्न, परिभाषा, उत्थापन, सङ्कलन, व्यवकलन, कोष्ठ, कोष्ठसम्बन्धी सङ्कलन व्यवकलन, गुणन, घातक्रिया, गुणनका सङ्क्षिप्त रीति, भागहार, प्रकीर्णक, प्रकीर्णकका रीति, प्रकीर्णकसम्बन्धी विविध उदाहरण, समीकरण, एकवर्ण एकघात समीकरणको क्रियासहित प्रश्न, तत्सम्बन्धी अभ्यासार्थ प्रश्न, समीकरणको विधि, उत्तरमाला’ रहेका छन् ।
मीर सुब्बा राममणि आ.दी.ले लेखेको पुस्तकको भूमिकामा ‘श्रीमान् प्रजावत्सल विद्याचूडामणि श्री ३ महाराजको उदयमा झन् देशोन्नति हुने कामहरूका साथसाथै आफ्नी मातृभाषा ‘गोर्खाली भाषा’ को उन्नतिको निमित्त पनि अनेक चेष्टा हुन लागिरहेछ । गोर्खा राज्यभरमा जहाँ जहाँ भाषा शिक्षाका अनेक पाठशालाहरू खोलिएका छन्, गोर्खा भाषा प्रकाशन समितिद्वारा नयाँ नयाँ पुस्तकहरू छापी प्रकाशन भएको र ती पुस्तकहरू ठाउँ ठाउँ स्कूल पाठशालाहरूमा पढाउन समर्पित लागेकाले यस समितिको कर्मचारीले रुचि मात्र होइन कि सम्पूर्ण प्रजावर्गमा पनि सन्तोषको परिमाण देखिन लागेको छ ।’ भनेर उल्लेख छ ।
उक्त पुस्तक पं. गोपालदास पाँडेका माहिला छोरा पं. नुरुदत्त पाँडेले परिश्रमपूर्वक तयार गरी ‘गोर्खा भाषा प्रकाशनी समिति’ मा समर्पण गरेका थिए । साथै पुस्तकको दोस्रो, तेस्रो र चौथो भागका तीन किताब पनि निजले उपयोगार्थ तयार भयो । यस समितिमा समर्पण गरिसकेका छन्, ती सबै क्रमशः प्रकाशित हुँदै जाने छन् । भनेर उल्लेख छ । उक्त पुस्तक पाँडेको मेहनत एवं अनुभवलाई उपयुक्त ठह¥याई पास गरिएकाले ‘गोर्खा भाषा प्रकाशनी समिति’ बाट पनि यसलाई प्रकाशित गरिएको उल्लेख छ ।
पुस्तकको पहिलो भाग बीजगणितका चिह्नहरू धन, ऋण, गुणन, भाग, रुट, कोस्टक आदि दिइएको छ । वर्तमान बीजगणितमा अङ्ग्रेजी शब्द प्रयोग भए पनि राणाकालीन बीजगणितमा नेपाली अक्षर लेखिएको छ । परिभाषा खण्डमा “जानेका वा नजानेका सङ्ख्याका स्थानमा वर्णमालाका अक्षरहरू अ, क, ग इत्यादि मानेर जुन अक्षरबाट गणित गरिन्छ, त्यसलाई बीजगणित भन्दछन्,” भनिएको छ ।
जहाँ जानेको सङ्ख्यालाई व्यक्त वा स्पष्ट सङ्ख्या र नजानेको सङ्ख्यालाई बीज वा अव्यक्त सङ्ख्या भनेर परिभाषा गरिएको छ । यस पुस्तकमा वर्तमान समयमा पढाइ हुने बीजगणितका हिसाब र सूत्रहरू रोमन (ए, बी, सी, एक्स, वाई, जेड) मा नभई देवनागरी (नेपाली) लिपि (क, ख, ग, अ, आ, इ) मा रहेका छन् ।