• १२ पुस २०८१, शुक्रबार

उद्योग दिवसमा ६५ उद्योगी सम्मानित

blog

उद्योग दिवसमा सम्मानित उद्योगी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर ९ गते । दशौँ उद्योग दिवसको अवसरमा जिल्लाका ६५ उद्योगीहरु सम्मानित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले दशौँ उद्योग दिवसरका अवसरमा जिल्लाका ६५ उद्योगीहरुलाई प्रोत्साहनस्वरुप सम्मान गरेको कार्यालय प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जिल्लाका उद्योगहरुलाई थप प्रोत्साहन गर्नका लागि उद्योगीहरुलाई सम्मान गरिएको अर्यालको भनाइ छ ।  जिल्लाका चाउमिन उद्योग, कृषि तथा पशुपंक्षी फार्म, दुग्ध डेरी, आरन व्यवसायी, होम स्टेलगायतका उद्योगहरु सम्मानित भएका हुन् ।

उद्योगीहरुले पछिल्लो समयमा बजार व्यवस्थापन समस्या हुँदै आएको बताउँदै कार्यालयले सम्मान गरेर थप र्जा पैदा गरिदिएको जनाएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्योगीहरुलाई  थप प्रोत्साहन गर्नका लागि तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले नगरभित्रका उद्योगीहरुलाई प्रविधि सहयोगलगायतका कार्यहरु गर्दै आएकाले निराश नहुन आग्रह गर्नुभयो । 

उद्योगीहरुको समस्या आफूले नजिकबाट नियालेको बताउँदै समस्याहरुलाई समाधान गर्नका लागि आफू सधैं साथमा रहेको उहाँले दाबी गर्नुभयो । पछिल्लो समयमा युवाहरु विदेश जाने लहर चलेको बताउँदै पन्थीले विदेश जान भन्दा स्वदेशको माटोमै लगानी गरेर उत्पादन गर्न आग्रह गर्नुभयो । 

विदेशमा गएर श्रम बेच्नुभन्दा स्वदेशको माटोमै उत्पादन गर्न सहज भएको र विदेशमा गएर पैसा कमाउन सहज नभएको उहाँको तर्क छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामै चार सय मुरी धान फलाउने कृषक हुनु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले इच्छाशक्ति भएमा यहाँको माटोमा पर्याप्त उत्पादन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।  

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ, विभिन्न उद्योगी, राजनीतिक दलहरुले उद्योग दिवस दिवसमा मात्रै सीमित नभई उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।