• ९ मंसिर २०८१, आइतबार

कुपोषित बालबालिकाको उपचार

blog

शेरबहादुर राई

ओखलढुङ्गा, मंसिर ९ गते । जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त सङ्ख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । 

जिल्ला अस्पताल अन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहबाट बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपाङ्गताको सिकारबाट बचाउन सेवा प्रदान भइरहेको रुम्जाटार अस्पतालका डा. साजन दुवालले बताउनुभयो । आवासीय पोषण पुनःस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको डा. दुवालले जानकारी दिनुभयो । 

बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाइ र उमेर अनुसारको तौल बनाउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिका साथै हेरचाह गर्ने अभिभावकलाई समेत पोषणसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको उहाँको भनाइ छ । 

जिल्ला अस्पतालमा सञ्चालित पोषण पुनःस्थापना गृहबाट ओखलढुङ्गालगायत खोटाङ र सोलुखुम्बुका नागरिकले समेत सेवा लिने गरेका छन् । पोषण पुनःस्थापना गृहमा राखिएका कुपोषित बालबालिकालाई अवस्था हेरेर दैनिक ८ देखि १२ पटकसम्म पोषिलो आहारा खुवाउने गरिएको अस्पतालले जनाएको छ । 

केन्द्रबाट आर्थिक बर्ष २०७७–७८ मा ३६, आव २०७८–७९ मा ७४, आव २०७९–८० मा ८२ र आव २०८०–८१ मा ५२ जना बालबालिकालाई सेवा प्रदान गरिएको थियो । चालु आव २०८१–८२ को चार महिनामा १२ जनाले सेवा लिएका छन् ।