• २३ माघ २०८१, बुधबार

पदमार्गका रूपमा विकसित हुँदै रुद्धपुरगढी

blog

हुप्सेकोट–५ को ऐतिहासिक रुद्धपुरगढी ।

मीना कँडेल

कावासोती, मङ्सिर ८ गते । छोटो बिदा हुने र आर्थिक रूपमा पनि कम खर्चमा हुने पदयात्रा स्वास्थ्य र मनोरञ्जनका दृष्टिकोणले धेरैको रोजाइँमा पर्ने गरेको छ । पूर्वी नवलपरासीको देवचुलीडाँडा र रुद्धपुरगढी पनि यस्तै पदयात्राका रूपमा विकसित भइरहेको छ । सदरमुकाम कावासोतीबाट करिब २५ किलोमिटर उत्तरमा पर्ने हुप्सेकोट गाउँपालिका–५ को ऐतिहासिक रुद्धपुरगढी क्षेत्रमा पदयात्रा गर्ने पर्यटक बढेका  छन् ।

समुद्र सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको सेन वंशीय राजा रुद्धसेनको गढी हेर्न जाने गरेको हुप्सेकोट–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । छोटो दुरीको पदयात्रामा रमाउनेका लागि अहिले यो गन्तव्य रोजाइँमा पर्दै गएको छ । तराईको जिल्लाबाट पनि हिमालदेखि चितवन, त्रिवेणी तथा भारतका विभिन्न स्थानको दृश्य यहाँबाट देख्न सकिने भएकाले आफू पनि घुम्न आएको घनश्याम बगालेले बताउनुभयो । 

 आन्तरिक पर्यटक आउन थालेपछि पदयात्रा सुरु गर्ने स्थान हुरहुरेडाँडामा होटेल तथा पसल सञ्चालन भएका छन् । यो पदयात्राको प्रचारप्रसार गर्न सके आकर्षण बढ्ने स्थानीय गनबहादुर मगरले बताउनुभयो । उहाँले पदयात्रा गर्ने रुटमा आवश्यक विश्राम स्थल, खानेपानीको व्यवस्था गर्न सक्ने हो भने सहज हुने उहाँको भनाइ छ । सुन्तला, अदुवा तथा अम्रिसो खेतीका लागि प्रसिद्ध यो क्षेत्रमा पर्यटक बगानमा नै पुगेर सुन्तला खाने तथा प्राकृतिक वातावरणमा रमाउने गर्दछन् । पदयात्राका लागि निर्माण गरिएको सिँढीलाई झाडी र घाँसपातले घेरिएको हुँदा सरसफाइ गर्न आवश्यक देखिन्छ । यस क्षेत्रमा लालीगुराँस रोपेर गाउँपालिकाले पर्यटकीयलाई थप आकर्षित  गर्न खोजे पनि रोपेका बिरुवा अधिकांश मरेका छन् ।  

संरक्षण नहुँदा जीर्ण 

हुप्सेकोट गाउँपालिका–५, धौवादीस्थित ऐतिहासिक रूद्धपुरगढी संरक्षणको अभावमा पुरातात्त्विक वस्तु नष्ट हुँदै गएको छ । तत्कालीन समयमा रिब्दीकोटका सेन वंशीय राजा रुद्रसेनले १५५० सालमा  पाल्पालाई राज्यको केन्द्र बनाउँदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको इतिहास छ । अहिले गढी भएको स्थान झारपातले भरिएको र संरक्षण अभावमा भएका शिला तथा संरचना नष्ट हुँदै गएको छ । महाभारत पर्वत शृङ्खलामा पर्ने यस गढी वरपर दरबारको भग्नावशेष, गोलाकार ट्रेन्च, पोखरी संरक्षणहीन अवस्थामा रहेको हुप्सेकोट–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।

जिल्लाको प्रसिद्ध मौलाकालिका स्थान, मुकुन्दपुर वरपर कोत तथा मन्दिरका भग्नावशेष आदि हुनुले गढीलगायत यो ठाउँमा शक्तिशाली पाल्पा राज्यको महìवपूर्ण भूभाग रहेको स्थानीयको दाबी छ । गढीसम्म पुग्न केही वर्षअगाडि निर्माण गरिएको पदमार्गको सिँढी पनि सरसफाइ नहुँदा झाडीमा परिणत भएको छ । हिमाल, पहाडका दृश्य नियाल्न र छिमेकी देश भारतको विहारसम्मका भूभाग देख्न सकिन्छ । गढीको संरक्षण र उत्खननका लागि स्थानीय सरकारले मात्र नसक्ने हुँदा केन्द्र सरकारले ध्यान दिनुपर्ने यमबहादुर मगरले बताउनुभयो । ऐतिहासिक स्थल भएकाले आन्तरिक पर्यटक पदयात्रा गर्दै गढीसम्म पुगे पनि संरक्षण अभावमा गढीको अस्तित्व मेटिन लागेको भन्दै निराश बन्ने गरेका छन् ।