राजकुमार भट्टराई
खोटाङ, मङ्सिर ७ गते । रावा बेसी गाउँपालिका–४ डुम्रे धारापानीमा भएको आगलागी पीडित परिवारलाई वडा कार्यालय र पालिकाले राहत उपलब्ध गराएको छ । आगलागीबाट घर जलेर नष्ट भएका इन्द्रबहादुर भुजेलको परिवारलाई तत्काल आवश्यक राहत सामग्री प्रदान गरिएको बताइएको छ ।
बुधबार राती घरमा आगलागी हुँदा भुजेलको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको २ तले घर, घरभित्र भएको अन्न, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर नष्ट भएको थियो । आगलागीबाट पीडित परिवारलाई पालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, वडाध्यक्ष ज्ञानबहादुर पाण्डेलगायतले घटनास्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।
पालिकाको तर्फबाट एक थान पाल, ३ थान ब्लाङ्केट, ६० केजी चामल, २० केजी चिउरा, एक काटुन तेल, ४ पोका नुन, २ केजी चिनी, एक केजी जिरा, एक दर्जन साबुन, २ केजी दाल र एक केजी चियारङ प्रदान गरिएको छ । यस्तै, वडा कार्यालयको तर्फबाट ६० केजी चामल, १० केजी चिउरा, एक काटुन तेल, एक काटुन चाउचाउ, ८ केजी दाल, ३ केजी चिनी, एक दर्जन साबुन, ५ केजी नुन र एक दर्जन कचौरा उपलब्ध गराइएको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।
राहत सामग्री हस्तान्त्रणमा पुग्नुभएका जनप्रतिनिधि कर्मचारीहरुबाट सङ्कलन गरेर तत्कालका लागि १५ हजार नगद पनि प्रदान गरिएको उहाँको भनाइ छ । भुजेल परिवारको नयाँ घर निर्माणका लागि पालिकाले सहयोग गर्ने पालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । वडाबाट पनि रकम सङ्कलनको काम भइरहेको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।
घरमा कोही नभएको समयमा भुजेल परिवारको घर आगलागी भएको थियो । धानखेतको कामले पुरै परिवार कटहरे बेँसीमा कटेरोमा बस्दै आएका थिए । चाबी लगाइरहेको घरमा राति एक्कासि आगलागी भएको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।