• ९ पुस २०८१, मङ्गलबार

पूर्वाधार मन्त्री राईद्वारा दुई पालिका जोड्ने मोटरेबल पुल शिलान्यास

blog

मोटरेबल पुल शिलान्यास गर्नुहुँदै भौतिक भूर्वाधार एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राई ।

राजकुमार भट्टराई

खोटाङ, मङ्सिर ७ गते । खोटाङको जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । साढे १७ करोडमा निर्माण हुने मोटरेबल पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको हो । 

मन्त्री राईले शिलान्यास गर्नुभएको पुलले जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानस्थित मैनाटार र बराहपोखरी गाउँपालिका–५ पौवासेरालाई जोड्नेछ । चिसापानी–देविस्थान–मैनाटार–पौवासेरा सडकखण्ड लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको छ । मैनाटार र पौवासेराको सिमानामा पर्ने बुँवा खोलामा पुल नहुँदा बर्खायाममा यातायात ठप्प हुने गरेको छ । हरेक वर्ष यातायात ठप्प गराउने बुवाँखोलामा मोटरेबल पक्की पुल बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा विनियोजित बजेटले बुँवाखोलामा १४८ मिटर लम्बाई भएको मोटरेबल पक्की पुल निर्माण गर्न लागिएको हो । मूल्य अभिवृद्धि कर तथा पिएससहित रु. १७ करोड ५८ लाख ७९ हजार ७२९ मा सम्पन्न गर्नेगरी जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरले बुवाँखोला मोटरेबल पक्की पुल निर्माणको ठेक्का लिएको छ । वि.सं २०८३ कात्तिक–२१ गतेसम्ममा सक्नेगरी ०८१ वैशाख–३० गते पुलको ठेक्का सम्झौता भएको कोशी प्रदेश सरकार अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ । 

पुल शिलान्यासपछि आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले तोकिएकै समयमा मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयले पुल निर्माणमा गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताउदै मन्त्री राईले समयमै पुल निर्माण गरेर हस्तान्त्रण गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो । 

मोटरेबल पक्की पुल शिलान्यास कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमि राजवंशी, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जरा, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख अरुणादेवी राईलगायतको उपस्थिति थियो ।