• १२ पुस २०८१, शुक्रबार

सामुदायिक विद्यालय पढ्ने छात्रालाई एक हजार

blog

खाता खोलेपछि प्रशन्न मुद्रामा देखिएका छात्राहरु । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ७ गते । तनहुँको एक पालिकाले सामुदायिक विद्यालयमा भर्ना भएका छात्राको खातामा एक हजार रुपियाँ जम्मा गर्न थालेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि खाता खोलिदिएको हो । ‘आबुँखैरेनीको प्रतिबद्धता, सुनौलो भविष्यको सुनिश्चितता’ भन्ने मूल नारा लिएर विद्यार्थीको बैंक खाता खोल्ने अभियान सुरु भएको हो । 

सामुदायिक विद्यालयमा छात्राको आकर्षण बढाउन छात्रा बचत खाता सञ्चालन कार्यक्रम ल्याइएको गाउँपालिका कार्यालयका पदाधिकारीले जनाएका छन् । गाउँपालिकाका अनुसार सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नुका साथै छात्रामा सानैदेखि बचत गर्ने बानीको समेत विकास हुने विश्वास लिइएको छ । 

आँबुखैरेनी गाउँपालिकाको आ.व.२०८१–८२ को नीति तथा कार्यक्रमअनुसार आँबुखैरेनी गाउँपालिकाको आयोजना तथा कुमारी बैंकको समन्वयमा गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको विद्यार्थी बचत खाता सञ्चालन कार्यक्रमको बिहीबार रामशाह माविबाट शुभारम्भ गरिएको छ । 

उक्त कार्यक्रमको बिहीबार उद्घाटन गर्दै आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विद्यार्थीमा बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुची तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग गर्ने तथा उद्यमशीलताको विकास गरी बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्नेलगायतका उद्देश्यले विद्यार्थीको बचत खाता खोल्न लागिएको बताउनुभयो ।

उक्त कार्यक्रम कुमारी बैंकसँग समन्वय गरी खाता खोल्ने तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीको हकमा प्रतिविद्यार्थी एक हजार रुपियाँ गाउँपालिकाले विद्यार्थीको खातामा बचत गरिदिने र बचत गरेबापत कुमारी बैंकले बीस हजार बराबरको स्वास्थ्य बीमालगायतका अन्य सुविधा दिने गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो । 

कार्यक्रमका लागि सुरुवाती चरणमा करिब २५ लाख बजेट लाग्ने अनुमान गरिएको छ । गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । उक्त विद्यालयमा दुई हजार जति छात्रा अध्ययनरत छन् । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाभित्र कार्यरत शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गाउँपालिकाले गरेको थियो । 

गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्विका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायत छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने, विद्यालयमा गाडीको व्यवस्था, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा, कर छुटका काम गर्दैआएको छ ।