• १२ पुस २०८१, शुक्रबार

कोरलामा अध्यागमन कार्यालय बन्द

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), मङ्सिर ७ गते । चीनसँग सीमा जोडिएको मुस्ताङस्थित कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालय बन्द भएको छ । भौगोलिक अवस्था, पूर्वाधारको अभाव र कर्मचारी व्यवस्थापनमा ढिलाइ भएपछि कार्यालय बन्द हुन पुगेको हो । 

कात्तिकको दोस्रो साता गृहमन्त्री रमेश लेखकले ल्होमन्थाङ गाउँपालिका–१, नेचुङमा पर्ने  कोरला नाकाको दशगजानजिक अध्यागमन कार्यालय उद्घाटन गर्नुभएको थियो । चिसो मौसम, जनशक्ति व्यवस्थापनमा ढिलाइ र अन्य प्राविधिक विषय मिलाउनुपर्ने भएकाले कार्यालय बन्द भएको अध्यागमन विभागले जनाएको छ । 

आवश्यक जनशक्तिको व्यवस्थापन र  पूर्वाधार निर्माण नगरी कार्यालय उद्घाटन गरिएकाले सेवा प्रवाह गर्न कठिनाइ भएपछि अध्यागमन कार्यालय बन्द हुन पुगेको हो । कार्यालयका लागि आवश्यक पर्ने जनशक्ति पनि व्यवस्थापन गरिएको छैन । अध्यागमन कार्यालय प्रमुखसहित तीन जना कर्मचारी खटिए पनि  खाने बस्ने समस्या भएपछि कार्यालय बन्द गरेर काठमाडौँस्थित अध्यागमन विभागमा पुगेका छन् । अध्यागमन विभागका निर्देशक नीराजन श्रेष्ठले भन्नुभयो, “अध्यागमन कार्यालय स्थापना भएको एकहप्तासम्म कार्यालय सञ्चालनमा आएको थियो । चिसो मौसम, कर्मचारीको अभाव र कार्यालयमा खटिएका कर्मचारीका लागि खाने बस्ने समस्या भएपछि हाललाई कार्यालय बन्द भएको हो । जनशक्ति व्यवस्थापन र कार्यालय सञ्चालनका लागि आवश्यक तयारी गरेर दुई/चार दिनभित्रै सञ्चालनमा ल्याउने विभागको योजना छ ।” 

कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति भर्नाका लागि कार्यालय प्रमुखलाई अख्तियारीपत्र दिएर पठाउने तयारी भएको विभागका निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यागमन कार्यालयका प्रमुख काठमाडौँमा हुनुहुन्छ । स्थानीय कर्मचारी भर्नाका लागि अख्तियारीपत्र दिएर एक/दुई दिनभित्रमा कोरला नाका पठाउँछौँ । विभागले पत्र तयार पार्दै  छ ।” कार्यालय प्रमुखसहित अध्यागमन कार्यालयमा आठ जना दरबन्दी व्यवस्थापन गरिएको निर्देशक श्रेष्ठले बताउनुभयो । स्थानीय कर्मचारी भर्ना गर्दा कार्यालयलाई नियमित सञ्चालन गर्न सहज हुने भएकाले विभागले त्यही अनुसारको तयारी गरेको उहाँको भनाइ थियो । 

समुद्र सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि सबै नेपालीले भिसा लिएर कोरला सीमा वारपार गर्न पाउने आशा गरिएको छ ।  नेचुङ सशस्त्र प्रहरी बलको (बिओपी) भवन निर्माण भएको छ । जोमसोमबाट कोरला नाकासम्म दुई लेनको कच्ची सडक पुगेको छ । ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्बु गुरुङले नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सस्तोमा आयात गर्दै आएकोमा अध्यागमन कार्यालय सञ्चालनमा आएपछि थप सहज आशा गरिए पनि अध्यागमन कार्यालय सञ्चालन नहुँदा समस्या भएको  बताउनुभयो । 

नाकापारि चिनियाँ पक्षले भने दशगजा छोडेर आधुनिक सूचना प्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवासगृह, प्रयोगशाला, गोदामघर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा प्रबन्धलगायतका पूर्वाधार निर्माण गरेको छ । कोरनाका कारण बन्द रहेको कोरला नाका अघिल्लो वर्षको कात्तिक २७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।