गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ७ गते । स्थानीय तह उपनिर्वाचन–२०८१ मा कीर्तिपुर नगरपालिकामा दुई प्रकारको मतपत्र हुने भएको छ । आयोगका प्रवक्ता निता पोखरेल अर्यालले कीर्तिपुर नगरपालिकामा प्रमुख र वडाध्यक्षका लागि दुई अलग अलग मतपत्र हुने बताउनुभयो ।
कीर्तिपुर नगरपालिकामा प्रमुखसहित कीर्तिपुर १ र ४ गरी दुई वटा वडा रिक्त छन् । प्रवक्ता अर्यालले भन्नुभयो, “कीर्तिपुरमा मतदाताले प्रमुख पदका लागि मतदान गरिसकेपछि सम्बन्धित वडाको मतपत्र पाउने छन् ।” पुथा उत्तरगङ्गा गाउँपालिकामा समेत उपाध्यक्ष र वडाध्यक्ष पद रिक्त छन् । तर वडाध्यक्ष निर्विरोध निर्वाचित भएकाले सो पालिकामा उपाध्यक्षका लागि मात्रै मतपत्र प्रयोग हुने छ । मङ्सिर १६ गते आइतबार ४१ पदका लागि मतदान हुने छ ।
जसमध्ये कीर्तिपुर नगरपालिकामा मात्रै दुई वटा मतपत्र प्रयोग गरिने छ । ३३ जिल्लाको ४४ स्थानमा उपनिर्वाचन हुँदै छ । जसमध्ये कैलाली, ओखलढुङ्गामा जिसस प्रमुख तथा पुथा उत्तरगङ्गामा वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । अब भने ३१ जिल्लाको ४१ स्थानमा उपनिर्वाचन हुने छ ।