• १० मंसिर २०८१, सोमबार

बाह्र कम्पनीले बुझाए हवाई भाडादर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ७ गते । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका १२ वटा हवाई कम्पनीले सरकारलाई हवाई भाडादरको विवरण उपलब्ध गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले २४ घण्टाभित्रै हवाई भाडा दर उपलब्ध गराउन निर्देशन दिएपछि दुई वटा स्वदेशीसहित १२ वटा हवाई कम्पनीले टिकटको मूल्य र यात्रुको विवरण मन्त्रालयमा बुझाएका हुन् । 

उहाँले भन्नुभयो, “हवाई भाडा महँगो भएको र सहजै उपलब्ध नरहेको गुनासोको आधारमा मन्त्रालयले पहल थालेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका १९ वटामध्ये बिहीबारसम्म प्रमुख १२ वटा हवाई कम्पनीले सिट वर्गीकरण अनुसार न्यूनतम टिकटको मूल्य, वर्तमान टिकटको मूल्य, सरचार्ज र यात्रुले लिएको टिकटको मूल्य विवरण मन्त्रालयमा बुझाएका छन् ।”

बिहीबार नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाई दुबई, इन्डिगो, एयर अरेबिया, टर्किस, कोरियन, सिचुवान, मलेसियन र जजिरा एयरवेजले हवाई टिकटको विवरण बुझाएको उहाँले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १० घण्टा उडान कटौती भएको छ । यो समयमा हवाई टिकट चार गुणासम्म महँगो भएको र श्रम स्वीकृति लिइसकेका श्रमिकले समेत टिकट नपाइरहेको गुनासो बढेपछि हवाई भाडा नियन्त्रणका लागि मन्त्रालयले बिहीबार सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा छ सदस्यीय कार्यदल पनि गठन गरेको उहाँले जानकारी दिनुभयो ।