गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ७ गते । आउँदो तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना देखिएको छ । पश्चिमी वायुको प्रभावले बुधबारदेखि सुरु भएको बदलीका कारण यी तीन प्रदेशमा छिटपुटदेखि हल्कासम्मको वर्षा हुने सम्भावना देखिएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हल्का वर्षासँगै तीन दिन यी प्रदेशका उच्च हिमाली भेगमा हल्का हिमपात हुने भएको छ । मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “खासै ठुलो वर्षा होइन तर यसले थप चिसो बढाउने छ ।” बिहीबार रातिदेखि शनिबार रातिसम्म यी प्रदेशका विभिन्न भू–भागमा छिटपुटदेखि हल्कासम्मको वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
बदलीका कारण लुम्बिनीदेखि यताको तराई भू–भागमा केही दिन बाक्लो हुस्सु, कुहिरो लाग्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । तथापि दिउँसो घाम लागेको खण्डमा भने बिस्तारै खुल्दै जाने छ । मौसम अनुगमन प्रणालीले ठुलो वर्षाको सम्भावना मङ्सिरको मध्यपछि मात्रै देखाइरहेको छ । त्यो पनि प्रणाली राम्ररी विकसित भइनसकेकाले पछि सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।