• १८ मंसिर २०८१, मङ्गलबार

बेनीमा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

blog

पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमका सहभागीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर ६ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २६ विद्यालयले सहभागिता जनाएका छन् । 

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर ले उद्घाटन गर्नुभयो ।  तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न तीन सय ७८ इभेन्टमा विद्यार्थीहरूबिच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा विजेतालाई ५१ हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा  पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ४० हजार र ३० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । 

प्रतियोगितामा गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रेशमबहादुर जुग्जालीले स्थानीय तह कार्यान्वयन सँगै खेलकुद क्षेत्रको विकासमा टेवा मिलेको बताउनुभयो । उहाँले राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताले विद्यार्थीमा भएको खेल प्रतिभालाई उजागर गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताहरूले खेलाडीहरूको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग पुगेको उहाँको भनाइ छ । 

नगरपालिकाका प्रमुख सुरत केसीले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट विद्यालयस्तरमा खेलाडी उत्पादन र खेल प्रतिभाको विकासमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद प्रतियोगिताले खेल क्षमताको पहिचान र विद्यार्थीहरूलाई अनुशासित बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।