• ११ पुस २०८१, बिहिबार

प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास

blog

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित चिनियाँ र नेपाली प्रतिनिधि मण्डलका सदस्यहरु । तस्विरः दीपक ज्ञवाली

गोरखापत्र अनलाइन

चीन (बेइजिङ), मङ्सिर ६ गते । नेपाल र चीनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।  

चीनको राजधानी बेइजिङमा आयोजित औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले) का नेताहरुले सो विश्वास व्यक्त गर्नुभएको हो । बेइजिङमा सम्पन्न दुईपक्षीय भेटवार्तामा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो । 

उक्त भ्रमणमा नेपाल र चीनविच भएका पुराना सम्झौताहरुको कार्यान्वयनका लागि ठोस योजना बन्ने र आपसी सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ समझदारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख मन्त्री लिउ चियानछाओले नेपालका प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनिया र नेपाली जनताले ठुलो अपेक्षा गरेको बताउँदै दुई देश र पार्टीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल हुने अपेक्षा गर्नुभयो । 

त्यसअघि विदेश विभागका उपमन्त्री सन हाईयानले दुई देशहरु एकअर्काका अनुभवबाट सिक्दै, सहयोग गर्दै अघि बढ्ने बताउनुभयो । विभागका डाइरेक्टर जनरल फङ सिउपिनले प्रधानमन्त्री ओलीको भ्रमणअघि आएको नेपाली टोलीका कारण भ्रमणलाई सफल पार्न र तयारीबारे छलफल गर्न सहज भएको बताउनुभयो ।  


एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको उच्चस्तरीय टोली अहिले चीन भ्रमणमा छ । यसअघि नेपाली टोली र चिनिया कम्युनिष्ट पार्टी स्कूल विभागविच अन्तरक्रिया भएको थियो । नेपाली टोली चीनका विभिन्न स्थानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको छ ।