• ६ मंसिर २०८१, बिहिबार

दार्चुलाको छाङरुमा खानेपानी पुग्ने

blog

खानेपानीको समस्या भोगी रहेको दार्चुला स्थित व्यास गाउँपालिका–१,को छाङरु गाउँ । तस्बिर सौजन्य: गोविन्द देवकोटा

गोकर्ण दयाल 

बैतडी, मङ्सिर ६ गते । सौका समुदायको बसोबास रहेको दार्चुलाको छाङरुमा खानेपानी पुर्‍याउन प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली मङ्गलवार अध्ययन सकेर फर्किएको हो । 

दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा खानेपानी पुर्‍य ाउन सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिजियर गोविन्द देवकोटाले बताउनुभयो । प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब ११० घरधुरीमा खानेपानी पुर्‍य ाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । 

समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा  टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको देवकोटाले बताउनुभयो । छाङरुमा बिजुली बत्ती र बाटो नपुगेकाले योजनाको लागत बढ्न सक्ने बताइएको छ । 

“खानेपानीको स्थलगत अध्ययन गर्न बैतडीबाट दार्चुला सदरमुकाम हुँदै भारतको बाटो भएर छाङरू पुग्यौँ,” डिभिजन कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “आइतबार बैतडीबाट दार्चुला पुग्यौँ । सोमबार   दार्चुलाबाट भारतको धार्चुला हुँदै महाकाली नदीको सीता पुल तरेर छाङरु पुग्यौँ ।” 

अध्ययन टोली छाङरु पुग्दा अधिकांश परिवार जाडो छल्न दार्चुला खलङ्गा झर्ने तयारी गरिरहेको देवकोटाले बताउनुभयो । स्थानीय प्रकाश बोहराले छाङरुमा खानेपानीको योजना लागू हुने भएपछि खुसी लागेको बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधि कार्यालयमा रूपमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बैतडी र दार्चुलामा खानेपानीको योजना निर्माण गर्दै आइरहेको छ । 

कार्यालयमार्फत चालु आ.ब.२०८१-०८२ मा मर्मतसहित २९० योजना कार्यान्वयनमा छन् । दार्चुलामा मात्रै गत वर्षसम्म ३० वटा योजना सम्पन्न भएका छन् भने चालु आर्थिक वर्षमा ७९ योजना सञ्चालनमा छन् । यो वर्ष छाङरुमा खानेपानी पुर्‍य ाउन विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने बजेट रहेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो ।