मार्तडी समाचारदाता
मार्तडी (बाजुरा), मङ्सिर ६ गते । बाजुराको बुढीनन्दा नगरपालिका स्थित दानसाँगु खोलामा बेलिब्रिज निर्माणका लागि सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएको प्राविधिकसहितको टोलीले दानसाँगुमा बेलिब्रिज पुल निर्माणका लागि सर्भे गरेको हो ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पर्ने दानसाँगु खोलामा पुल नहुँदा बर्खायामको समयमा सवारीसाधन चल्न सक्दैनन् । अहिले दानसाँगु खोलामा बेलिब्रिज निर्माण गर्नका लागि सर्भेको काम भएकाले नागरिकलाई यात्रा गर्न सहज हुने विश्वास गरिएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “विगत लामो समयको प्रयासपछि दानसाँगु खोलामा पुल निर्माणका लागि सर्भेको काम गर्न सफल भएका छौँ । अबको केही समयभित्रै बेलिब्रिज निर्माण गर्ने गरेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।
हिउँदको महिनामा चिसोले खोला तर्न नसकिने र बर्खाको समय पानीको बहाव बढ्दै जाने गरेकाले यहाँका सवारीसाधनलाई खोला वारपार गर्न निकै समस्या हुँदै आएको थियो, बेलिब्रिज निर्माण भयो भने सहज हुने उहाँको भनाइ छ । सडक डिभिजन कार्यालय अछामले बडीमालिका नगरपालिकाको जडाङ्गामा रहेको बेलिब्रिजलाई त्यहाँ राख्ने गरेर दानसाँघु खोलामा बेलिब्रिज पुलको सर्भे गरिएको नगरप्रमुख बोहराले बताउनुभयो । उहाँका अनुसार संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डेलगायतका अन्य राजनीतिक दलका प्रतिनिधसँग सर्वदलीय बैठकको निर्णय अनुसार जडाङ्गामा रहेको बेलिब्रिज पुललाई दानसाँगुमा स्थानान्तरण गर्ने गरेर दानसाँगुमा पुल निर्माण गर्ने बताउनुभयो ।
मार्तडी कोल्टी सडक अन्तर्गत पर्ने दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणका लागि सर्भे भइसकेको र बजेटको व्यवस्थापन हुन बाँकी रहेको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनुभयो । भौतिक मन्त्रालयमा बजेट व्यवस्थापन हुन नसकिने भएको हुँदा अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनका लागि समन्वय गर्ने उहाँले भन्नुभयो ।
प्रमुख देवकोटाले भन्नुभयो, “जडाङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने निर्णय तथा सर्भे गर्ने काम पूरा भयो, तर बजेट नहुँदा भौतिक तथा आर्थिक मामिला मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ । यसका लागि बाजुरावासीले सहकार्य, समन्वय गर्नुपर्ने उहाँले भन्नुभयो । बजेट नहुँदा ढिलो हुन सक्ने प्रमुख देवकोटाले बताउनुभयो । दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण भएपछि बुढीनन्दा नगरपालिकाको कोल्टी, हिमाली, जगन्नाथ र स्वामिकार्तिक खापर गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाई समेत सहज हुने छ । मार्तडीदेखि कोल्टी सडक सञ्चालन भएको २० वर्षभन्दा बढी भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँका नागरिकले सधै सास्ती खेप्दै आउनु परेको छ