• ६ मंसिर २०८१, बिहिबार

अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ६ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रबल प्रमानिक्स एकेडेमी अफ आर्ट्स, भारतको संयुक्त आयोजनामा बुधबारबाट ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ । 

कार्यक्रमको प्रतिनिधि सभा सदस्य रघुजी पन्त, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । 

पन्तले यस्ता कार्यक्रममार्फत कला, संस्कृतिको आदानप्रदान हुने विचार व्यक्त गर्नुभयो । कुलपति हार्तम्छालीले कार्यक्रमले सात वटा देशका कलाकारसँग साक्षात्कार गर्ने अवसर दिनुका साथै कला, संस्कृतिको आदानप्रदानमा सहयोग गरेको बताउनुभयो । 

श्रीलङ्काका कलाकार महेस चतुर्रङ्ग एकनायके र बङ्गलादेशकी कलाकार रुविना नार्गिसले नेपाल आएर कला प्रदर्शनीमा सहभागी हुन पाएकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो । एकेडेमी अफ आटर्सका अध्यक्ष अरूप चन्द्रले ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा कार्यक्रम गर्न पाएकामा धेरै खुसी लागेको बताउनुभयो । प्रदर्शनीमा नेपालसँगै भारत, श्रीलङ्का, मौरिसस, बङ्गलादेश, स्पेन, अर्जेन्टिनाका ७५ कलाकारका १५० भन्दा बढी कलाकृति समावेश गरिएका छन् । प्रदर्शनी मङ्सिर ७ गतेसम्म चल्ने छ ।