कोकिला ढकाल
इलाम, मङ्सिर ६ गते । खुलेको मौसम भए पनि बिहान १० बज्न नपाउँदै हुस्सु र कुहिरोले छपक्कै ढाक्ने डाँडो । त्यही डाँडामा हेर्दा आनन्द अनि सुन्दा कथा जस्तै लाग्छ ‘ब्रिटिस आर्मी’ देउकुमार राईको दैनिकी । १८ वर्ष ब्रिटिस आर्मीमा जागिर खाएर अवकाशपछि घर फर्किएका राई अहिले इलामको सन्दकपुर गाउँपालिकाको माईपाताल भन्ने स्थानमा आफूले लगाएको किवी बगानमा व्यस्त हुनुहुन्छ ।
यतिबेला किवी फलको टिपाई सुरु हुनै लागेको छ । लटरम्म झुन्डिएका किवी फलले पनि देउकुमारको परिश्रम कस्तो छ भन्ने सजिलै दर्साउँछ । इलाम नगरपालिका–१, साँखेजुङ घर भएका राईले २०६८ सालमा करिब दुई सय रोपनी जमिन खरिद गरेर किवी खेती सुरु गर्नुभएको थियो । किवीसँगै सिजन अनुसारका तरकारी र अन्य फलफूल पनि यहाँ उत्पादन हुने गरेको छ ।
माईपोखरी हर्बल अर्गानिक एग्रिकल्चर फार्म दर्ता गरेर किवी लगाएका राईले सुरुका पाँच वर्ष त कुन जातको किवीले राम्रो फल दिन्छ भन्ने परीक्षण र अनुसन्धानमै बिताउनुभयो । समुद्री सतहदेखि करिब २२/२३ सय मिटर उचाइमा पहिलो पटक लगाएको किवीले राम्रो फल दिन सकेन । राईलाई घाटा नै भयो । पुनः ग्रिन र गोल्डेन जातका किवीका बिरुवा विस्तार गरेपछि किवीबाट आम्दानी हुन थालेको छ ।
दुई/चार वर्षपछि वार्षिक ३० देखि ४० लाख रुपियाँ आम्दानी हुने राईको अनुमान छ । यो साल कम्तीमा सात टन किवी उत्पादन हुने उहाँको अनुमान छ । उहाँले भन्नुभयो, “अबको चार वर्षमा ४० टन किवी उत्पादनको लक्ष्य राखेको छु ।”
“आफ्नो जमिन बाँझो छाड्ने र नेपाली विदेशी भूमिमा गएर परिश्रम गर्ने कल्चर नै बसिसक्यो । अब आफ्नै भूमिमा पनि राम्रो कर्म गर्न सकिन्छ भन्ने एउटा सन्देश युवामा पु¥याउन अमेरिका बस्ने अवसर पनि त्यागेर नेपाली भूमिमै पसिना बगाउने कसरत गरिरहेको छु,” राईले भन्नुभयो, “श्रीमतीको निधन भयो, बुवा पनि बित्नुभयो, आमालाई हृदयाघातको समस्या भयो, मेरो एक्लो जीवनलाई साथ दिन अन्ततः यिनै किवीका बिरुवा र फल भए । अहिले यी नै सबै मेरा साथी जस्तो लाग्छ ।” करिब पाँच करोड लगानी गरेर ५० रोपनी जमिनमा लगाएको किवी फल अहिले आम्दानीको स्रोत बन्न थालेको छ ।
राईको फार्ममा अहिले कृषि विषयमा पढेका विद्यार्थीले अध्ययनसमेत गरिरहेका छन् । इलामसहित ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुरदेखिका विद्यार्थी विभिन्न कृषि क्याम्पस तथा शिक्षालयबाट अभ्यास र अध्ययनका लागि राईको फार्ममा छन् ।
विषेश गरी किवी फलसम्बन्धी अध्ययन, बिरुवाको कटिङ, ग्राफटिङ, बाली बिरुवा लगाउने, प्राङ्गारिक मल बनाउने, गँड्यौले मल बनाउने माटो परीक्षणलगायतका विषयमा १०५ जना विद्यार्थीले अभ्याससमेत गरिरहेका छन् । कृषिमा निकै पोक्त मानिएका राईले आफू विदेशमा रहँदा सिकेको सिपलाई समेत विद्यार्थीलाई सिकाइरहनुभएको छ ।