उर्लाबारी समाचारदाता
उर्लाबारी, मङ्सिर ६ गते । जैविक मलप्रति किसानको आकर्षण बढ्दा मोरङको उर्लाबारी–९ का राजीव खड्कालाई मल उत्पादन गर्न भ्याइनभ्याइ छ । वैदेशिक रोजगारीमा १६ वर्ष काम गरेर नेपाल फर्केका खड्काले १५ महिनाअघि प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
नगरपालिकाले प्रचारप्रसार र प्रवर्धनमा सहयोग गरेपछि खड्काले विभिन्न कृषि सहकारीलाई मल पठाइरहनुभएको छ । सन् २०१९ मा नेपाल फर्केका खड्काले सुरुमा आमा कृषि फार्म दर्ता गरेर गाई र बाख्रापालन गर्नुभयो । दुबई, कतार र कुवेतमा गरी १६ वर्ष पसिना बगाएका खड्काले श्रीमती र छोराछोरी पनि उतै लगिसक्नुभएको थियो । मासिक छ लाख ५० हजार रुपियाँ कमाइरहनुभएका खड्कालाई दुबईमा सिकेको सिप नेपालमा आएर प्रयोग गर्ने भोक जाग्यो र उहाँ नेपाल फर्किनुभयो । दुबईबाट हेल्थ सेफ्टी एन्ड इन्भारमेन्ट (एचएसई) उत्तीर्ण खड्काले ठुलो जागिर छोडेर नेपालमा पशुपालन र जैविक मल उत्पादन गर्ने सपना देखेको बताउनुभयो । अनि कमाएर ल्याएको सबै पैसा गाई र बाख्रापालनमा लगाउनुभयो ।
आमा कृषि फार्मले लगानीको ब्याज पनि उठाउन सकेन । जति जोतिए पनि आम्दानी र खर्च बराबर । अहिले पनि ५६ वटा बोयर जातका बाख्रा छ वटा लैना गाईसहित १६ वटा बाच्छाबाच्छी खड्काको फार्ममा छन् । पशुपालनबाट राम्रो लाभ लिन नसकेपछि खड्काले गाईको गोबर र बाख्राको जुतो र कुखुराको सुली प्रयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थाल्नुभयो । १५ महिनाअघि सुरु भएको मल उद्योगमा हालसम्म एक करोड पाँच लाख रुपियाँ खर्च भइसकेको छ ।
कोशी प्रदेशको कृषि मन्त्रालय कृषि ज्ञान केन्द्र मोरङले ५० लाख अनुदान दिएको छ भने बाँकी खर्च खड्काले आफैँ व्यवस्थापन गर्नुभएको छ । खड्काले प्राङ्गारिक मलले सन्तोषजनक परिणाम दिएको बताउनुभयो । उहाँका अनुसार हाल दैनिक १५ सय किलो मल उत्पादन भइरहेको छ । हाल प्रतिकिलो ३८ रुपियाँमा बिक्री भइरहेको मल खट्टा मेसिन खरिद गर्न सके ३० रुपियाँसम्ममा बिक्री गर्न सकिने खड्काले बताउनुभयो । खट्टा मेसिनलाई २५ लाख रुपियाँ पर्छ ।
कोशी प्रदेशका स्थानीय सरकारले सहकारीमार्फत प्राङ्गारिक मल खरिद गर्ने सम्झौता गरेपछि खड्का हाल १९ घण्टा उद्योगमै काम गर्नुहुन्छ । उहाँले भन्नुभयो, १५ जना कामदार हुनुहुन्छ, उहाँहरूसँगै हामी दम्पती पनि खट्छौँ । एक जना भारतीय कृषि प्राविधिक हुनुहुन्छ ।
खास गरी नर्सरीहरू, तरकारी खेती, फलफूल खेतीलाई एकै वर्षमा रासायनिक मलमुक्त गराउन सक्ने क्षमता राख्ने यो मलमा नाइट्रोजन २, पोटास २.७८, फस्फोरस ३, अर्गानिक कार्बन २१ प्रतिशत र पिएच लेबल ७.७ रहेको प्रमाणित भएको छ । गोबर, सुली र जुतोमा अरू १२ तìवको मिश्रणबाट यो दानादार मल बनाइन्छ । दुवई र कुवेत बस्दा मुम्बईका कृषि वैज्ञानिकसँगको सङ्गतले खड्कालाई कृषि क्षेत्रमा आकर्षित गरेको हो ।
कच्चा पदार्थ पु¥याउन सक्दा दैनिक १५ हजार किलो मल उत्पादन गर्न सकिन्छ तर हाल सरदर दुई हजार किलो मल उत्पादन भइरहेको छ । केरा खेती, ड्र्यागन फ्रुट, नर्सरी र तरकारी खेती गर्ने किसानलाई नै पु¥याउन सकेको छैन । धान, मकै, तोरी बालीका लागि उत्पादन गर्न लगानी अझै ठुलो चाहिन्छ । उहाँले सरकारले रासायनिक मलमा दिने अनुदान जैविक मलमा लगानी गर्ने हो भने पाँच वर्षमा रासायनिक मल विस्थापित गर्न सकिने बताउनुभयो ।