भक्तिविलास पोखरेल
गाईघाट, मङ्सिर ५ गते । दुई छोरालाई पछाडिको सिटमा बसाएर आपूmले मोटरसाइकल चलाएर गाईघाटबाट घर जाँदैगरेका उदयपुरको त्रियुगा नगरपालिका १३ का ४५ बर्षीय महादेव चौधरीको बुधवार साँझ दुर्घटनामा मृत्यु भएको छ ।
मदन भण्डारी स्मृति लोकमार्ग अन्तर्गत त्रिनपा १३ को असारीस्थित दनुवारी चोकमा विपरित दिशाबाट आउदै गरेको स १ त ५७४२ नम्बरको ट्याक्टरसँग प्र १–०५–००१ प ४२७३ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । उहाँका छोराहरु १५ वर्षीय दिवाकर चौधरी र १० वर्षका कृष्ण चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताउनुभयो ।
घाइते दुवै छोरालाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि न्युरो अस्ताल विराटनगर पठाइएको र चालकसहित दुर्घटनामा परेको ट्याक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताको शवगृहमा राखिएको कार्कीले बताउनुभयो ।