काठमाडौँ, मङ्सिर ५ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगै जान नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) को प्रचार विभागले बिहीबार आयोजना गरेको सम्पादकसँग अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उपमहासचिव ज्ञवालीले राजनीतिलाई स्थायित्व दिने हो भने विकास र समृद्धिसँगै जनतामा डेलिभरी पनि चाहिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘निरन्तर निगरानी लोकतन्त्रको खबरदारी हो । प्रचण्डले चौथो अभ्यास गरेपछि समस्या भयो । मसँग म्याजिक नम्बर छ भनेर त्यसको जगमा उभिएर पछि हामी गम्भीर भयौँ। यो गठबन्धनका परिवर्तनका मुख्य स्टेक होल्डर हौँ । लोकतन्त्र खतरामा पर्छ भनेर हामीले सात बुँदे सहमति गरेको हो ।’’
उहाँले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका दलको सहकार्यमा सरकार बनेपछि अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको र जनतामा भरोसा जगाएको पनि उल्लेख गर्नुभयो । उहाँले खलबलिएको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गर्ने र सुशासनमा सुधारको सङ्केत दिने कुरा अहिलेको सरकारका सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले शान्तिपूर्ण ढङ्गले सडकमा जाने कुरा ठिक भए पनि अहिले जुन ढङ्गको भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ, त्यो गलत भएको दाबी पनि गर्नुभयो । विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्दै अहिले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा गरिएका आन्दोलनको कुनै औचित्य नभएको उहाँको भनाइ छ ।
उहाँले रामायणमा सीताले समेत अग्निपरीक्षा दिएको सन्दर्भ उल्लेख गर्दै रास्वपा सभापतिप्रति एमालेले कुनै प्रतिशोध नसाँधेको उल्लेख गर्नुभयो । रास्वपा र लामिछानेसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको भन्दै अहिले लामिछाने पक्राउ परेपछि एमालेप्रति लगाएको आरोप गलत भएको टिप्पणी गर्नुभयो ।
उहाँले विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्ने भन्दै एमालेले कोशी प्रदेशका बहालवाला मन्त्रीको समेत बचाउमा एमाले नलागेके सन्दर्भ उल्लेख गर्नुभयो । ‘‘अहिले रास्वपामा अरूलाई कानुन लागे पनि हामीलाई लाग्नु हुन्न भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ, त्यो गलत छ’’ ज्ञवालीले भन्नुभयो । उहाँले सबैतिर बेथिति मात्रै छ भन्ने कुराका विरुद्धमा दलहरू बोल्नुपर्छ मर्यादामा मात्रै लोकतन्त्र रहन्छ, भन्नुभयो ।
नेता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको ‘फेक’ डकुमेन्ट, रवीन्द्र मिश्रसँग प्रचण्डले गरेको कुराकानी र प्रचण्डले भारतीय सञ्चार माध्ययमलाई दिएको अभिव्यक्तिजस्ता कुराहरू अस्थिरताको हुँइया चलाउनेहरूको योजनाबद्ध हर्कत भएको उल्लेख गर्नुभयो ।
उहाँले प्रचण्डका अभिव्यक्ति खेदजनक भएको समेत टिप्पणी गर्नुभयो । मङ्सिर ७ मा एमालेले गर्न लागेको जागरण अभियान लाकेतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्धको जागरण अभियान भएको उहाँले प्रष्ट पार्नुभयो । ‘‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागका हौँ । यो अपिल जनतामा लैजान खोजेको हो’’ उहाँले भन्नुभयो, ‘‘सरकारले जनतलाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न । तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ त्यसले देशको मनोबल कमजोर बनाउने प्रयास भएको छ । राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्र होइन सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो ।’’
उहाँले डोल्पा, हुम्लाजस्ता विकट ठाउँहरूमा सडक पुग्नुलगायतका कामहरू लोकतन्त्रको सफल उदाहरण भएको पनि उल्लेख गर्नुभयो । सरकार बनेको चार महिना पूरा हुँदा देशको अर्थतन्त्रले गति लिएको भन्नुहुँदै उपमहासचिव ज्ञवालीले गौतमबुद्ध विमानस्थल सुचारु भएको, खुर्कोटमा बाढीले बगाएको पुललाई १९ दिनमा निर्माण गरी यातायात सुचारु गरिएको प्रष्ट पार्नुभयो ।
स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले लोकतन्त्रमा सत्तामा हुँदा र नहुँदा पनि जनताका बिचमा जाने छुट भएको भन्दै यस्तो प्रयोग छिमेकी मुलुक भारत मात्र होइन, अमेरिकालगायतका देशमा पनि रहेको उल्लेख गर्नुभयो । ‘‘उपनिर्वाचन हुन गइरहेको छ । हामीले जनतालाई अपिल गर्नका लागि पनि मङ्सिर ७ गते जागरण सभाको आयोजना गरेका हौँ’ उहाँले भन्नुभयो ।
जागरणसभा भद्रकालीबाट सुरु भएर दरवारमार्गमा गएर सभा हुने उहाँले बताउनुभयो । सभामा करिब एक लाख जनता उतार्ने तयारी एमालेले गरेको उहाँको भनाइ छ । सरकारविरुद्ध गरिएका गलत भाक्ष्यलाई चिर्न र जनतामा सकारात्म सन्देश प्रवाह गर्न सभा आयोजना हुन लागेको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीका कुरा सुन्न र एमालेका केही धारणा बताउन अन्तरक्रिया कार्यक्रम राखेको जानकारी दिनुभयो । संवाद कार्यक्रममा नेपाली मिडियाका सम्पादक तथा पत्रकारहरुको सहभागिता रहेको थियो । सो अवसरमा सम्पादकहरुले सरकारले गरेको कामको सही प्रचार गर्न र गलत चिजलाई चिर्न अभियान चलाउन सुझाव दिएका थिए ।