• ५ मंसिर २०८१, बुधबार

पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घण्टामा २० जनाको मृत्यु

blog

पेशावर, मङ्सिर ५ गते । उत्तर-पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले बुधबार बताएको छ । यो अफगानिस्तान सीमा क्षेत्रमा भएको अर्को झडपमा आठ जनाको मृत्यु भएपछिको घटना हो ।

आत्मघाती विस्फोट मङ्गलबार भएको थियो र यसमा ‘मातृभूमिका १२ बहादुर छोरा’ को मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ । पहाडी खैबर पख्तुनख्वा प्रान्तको बन्नुमा आत्मघाती आक्रमण हुनुअघि उनीहरू र सैनिकहरूबिच भएको गोली हानाहानमा छ आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

“चौकीमा प्रवेश गर्ने प्रयासलाई आफ्नै सेनाले प्रभावकारीरुपमा विफल बनायो, जसले (उग्रवादीहरूलाई) विस्फोटक भरिएको सवारी साधन चौकीको परिधि पर्खालमा ठोक्काउन बाध्य पार्‍यो”, विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानी तालिबान हाफिज गुलबहादुर सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीले एक बयानमा ‘आफ्नो दुःख’ र ‘आतङ्कवादको अभिशापलाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो सङ्कल्प’व्यक्त गर्नुभयो । गृहमन्त्री मोहसिन नकवीले आक्रमणको निन्दा गर्नुभयो ।

नाम नछाप्ने सर्तमा कुरा गर्ने एक गुप्तचर अधिकारीका अनुसार खैबर पख्तुनख्वामा भएको अर्को आक्रमणको २४ घण्टाभन्दा कम समयमा बम विस्फोट भएको थियो । सोमबार भएको त्यो झडप घण्टौँसम्म चलेको थियो । प्रान्तको तिराह क्षेत्रमा आठ सैनिक र नौ उग्रवादीको मृत्यु भएको ती अधिकारीले बताए ।

पाकिस्तानी तालिबान भनेर पनि चिनिने तेहरिक-ए-तालिबान पाकिस्तान (टिटिपी) ले पछि उक्त आक्रमणको जिम्मेवारी लिएको थियो र सुरक्षा बलले आफ्ना एक जना लडाकुलाई लक्षित गरेको खोजीको जवाफमा उक्त आक्रमण भएको बताएको थियो । रासस/एएफपी