• ११ पुस २०८१, बिहिबार

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूत रिनाको शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्का शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर : उपराष्ट्रपतिकाे सचिवालय

काठमाडौं, मङ्सिर ५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायतका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–फिनल्यान्ड सम्बन्धका आधारस्तम्भ भएको बताउनुभयो ।

‘ सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भए पश्चात् दुई देशबिच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्ध प्रति म खुसी व्यक्त गर्दछु’ उहाँले भन्नुभयो, ‘यस वर्ष हाम्रो कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ भएको थाहा पाउँदा म हर्षित छु । हाम्रा दुई देशको सम्बन्धले नयाँ उचाइ पार गर्दै जाओस् भन्ने कामना गर्दछु ।’

उपराष्ट्रपति यादवले फिनल्यान्ड नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै हाल फिनिस विकास सहायता नेपालको प्राथमिकताका विषयहरू–गरिबी निवारण, वातावरणीय दिगोपना, दैवीप्रकोप न्यूनीकरण, मानव अधिकार र लोकतन्त्रको प्रवर्द्धन तथा सहभागितामूलक शासन व्यवस्थातर्फ लक्षित रहेकोमा खुसी समेत व्यक्त गर्नुभयो ।

‘नेपालले सन् २०२६ सम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले आवश्यक रणनीति तय गरिसकेको छ’ उहाँले भन्नुभयो, ‘यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन हामीलाई फिनल्यान्डलगायत विकास साझेदारहरूबाट ठुलो मात्रामा पुँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक पर्नेछ ।’

उपराष्ट्रपति यादवले कोभिड–१९ सङ्क्रमणको समयमा मूल्यवान् सहयोग प्रदान गरेकोमा फिनल्यान्डप्रति आभार व्यक्त गर्दै भन्नुभयो, ‘फिनल्यान्डले बहुपक्षीय मञ्चहरूमा अन्तर्राष्ट्रिय मुद्दाहरू जस्तै जलवायु परिवर्तनको क्षेत्रमा खेलेको भूमिकाको नेपाल प्रशंसा गर्दछ । आपसी हितका विषयहरूमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा म आशावादी छु ।’

उहाँले आगामी २७ नोभेम्बरमा फिनल्यान्डको स्वतन्त्रता दिवस र नेपाल–फिनल्यान्ड कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठको अवसरमा काठमाडौँमा एक समारोह आयोजना गरिनेबारे जानकारी पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गर्दै स्वतन्त्रता दिवसको अवसरमा फिनल्यान्ड सरकार र जनतालाई हार्दिक बधाई व्यक्त गर्नुभयो ।

नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले नेपालका लागि विकास सहायताको दृष्टिकोणले यो वर्ष राम्रो रहेको बताउनुभयो ।