• २ माघ २०८१, बुधबार

मधेशका महिलालाई वित्तीय साक्षरता तालिम

blog

वित्तीय साक्षरतासम्बन्धी तालिममा सहभागी महिलाहरु । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर ५ गते । आर्थिक सशक्तीकरणका लागि मधेशका महिलाले वित्तीय साक्षरतासम्बन्धी तालिम लिएका छन् । मिडिया हाउस नेशनल इन्स्टिच्युट फर करियर डेभलपमेन्टको आयोजना तथा नबिल बैंक लिमिटेडको सहकार्य तथा जनकपुर जेसिजको स्थानीय सहयोगमा बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित महिलाका लागि वित्तीय साक्षरतासम्बन्धी एक दिवसीय तालिममा मधेशका ४० भन्दा बढी महिलाले तालिम लिएका हुन् । 

तालिमबाट महिलाले वित्तीय योजना, बचत, लगानी र उद्यमशीलताको आधारभूत ज्ञान हासिल गरेका छन् । तालिमका एक सहभागी सङ्गीता देवले भन्नुभयो, “पहिला हामीलाई पैसाको व्यवस्थापनबारे केही थाहा थिएन । तर तालिममा सहभागी भएपछि अब हामीले बचत र लगानी गर्न सक्ने ज्ञान पाएका छौं र यो हाम्रो परिवार र भविष्यका लागि उपयोगी छ ।”

वित्तीय साक्षरता तालिमले महिलाहरूको आत्मनिर्भरता बढ्ने, घरेलु व्यवसायको विकासमा प्रोत्साहन हुने, वित्तीय पहुँच नपाएका ग्रामीण महिलालाई बैंक र सहकारी संस्थासँग जोड्न सकिने तथा मधेशको समग्र आर्थिक विकास र महिला सशक्तीकरणलाई बलियो बनाउन सकिने तालिमको उद्देश्य छ । 

तालिमका आयोजक संस्था मिडिया हाउन कार्यकारी निर्देशक सहनशीला शर्माले भन्नुभयो, “महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन वित्तीय साक्षरता नै पहिलो कदम हो । यो तालिमले मधेशका महिलाहरूलाई परिवार र समुदायमा आर्थिक निर्णय लिने क्षमतामा सुधार गर्ने विश्वास लिएका छौं ।”

मिडिया हाउसले गत शनिबारदेखि नै धनुषा तथा महोत्तरीका विभिन्न स्थानमा महिलालाई वित्तीय साक्षरतासम्बन्धी तालिम दिँदै आएको छ । जसमा अढाइ सयभन्दा बढी महिलाले वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण लिएका छन् । 

आज आयोजित तालिमका लागि जनकपुर जेसिजले र यसअघि आयोजित तालिमलाई एभरेष्ट बैंक लिमिटेडले सहकार्य गरेको थियो भने स्थानीय तहमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, जलेश्वर उद्योग वाणिज्य सङ्घले सहयोग गरेका थिए । 

प्रशिक्षण कार्यक्रममा मिडिया हाउसका पदाधिकारी उज्वलराज गौतम, उषा श्रेष्ठ, जेसिजका अध्यक्ष यातोषकुमार साह तथा प्रशिक्षकका रुपमा विनोद अधिकारीको उपस्थिति थियो।